दुई तिहाई सरकारले पनि जनताले चाहेअनुसार काम गर्न सकेन : प्रचण्ड

| 2019 Feb 26 | 04:30 pm 1910

गोरखा, फागुन १४ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षस पुष्पकमल दाहाल प्रचण्डले जनताले चाहेअनुसार काम गर्न नसकेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तु्ष्टी जनाएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताले दुई तिहाईको सरकार गठन गर्दा पनि अनुभूत हुनेगरी काम हुन नसकेको बताएका हुन।

‘दुई तिहाईको सरकार भएका बेला नेपाली जुन गतीको साथ विकास होला निर्माण होला फटाफट काम होला भ्रष्टहरूमाथि कारबाही होला सुशासन होला लागेको थियो त्यो हुन सकेको छैन’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘वृद्धभत्ता पाँच हजार पुर्‍याउँछौ भनेका थियौ त्यो हुन सकेन। अब बन्ने बजेटमा त्यो पूरा गर्ने प्रधानमन्त्री र मबीच कुरा चलिराखेको छ ।’

उनले जनताको सरकारप्रतिको बुझाइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी भएको प्रचण्डले बताए। उनले चुनावमा गरेका बाचा पूरा नहुँदा जनताले दिने प्रतिक्रिया नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र आफूलाई पनि ज्ञात भएको बताए।

प्रचण्डले केही राम्रा काम भए पनि जनताले अनुभूत गर्नेगरी काम हुन नसकेको कुरा प्रधानमन्त्रीले पनि बुझेको बताए। पूर्वाधार निर्माण, बृद्धभत्ता, शिक्षा, स्वास्थ्य, रोजगारका काम जनताले आफ्नो सरकार आयो भन्ने सोच्ने, भोग्ने र अनुभूत गर्नेगरी अबको बजेटमा व्यवस्था गर्न प्रधानमन्त्री र आफूबीच कुरा चलिराखेको प्रचण्डले बताए।

प्रचण्डले अहिले दुवैजनाबीच नयाँ बजेटको बारेमा छलफल भइरहेको पनि जानकारी दिए। उनले चुनावमा गरेका बाचा पूरा गर्ने हिसाबले नयाँ बजेटको तयारी भइरहेको बताए। उनले प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा भत्ताको व्यवस्थाको प्रसंसा गरेका थिए।

प्रचण्डले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको पनि बताए। शान्ति प्रक्रिया कछुवा गतीमा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने काम कछुवा गतीमा चलेको भन्दै असन्तुष्टि जनाएका छन।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.