भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट

रिपोर्ट नेपाल | 2019 Feb 26 | 02:33 pm 1527

भरतपुर, फागुन १४ : भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो ।

सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ३० हजार अण्डा नष्ट गरिएको नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । विशेष सूचनाका आधारमा अवैध अण्डा ल्याएको भेटेपछि अण्डा नष्ट गरिएको उनले बताए । दुवै ह्याचरीबाट अण्डा उत्पादनका लागि ह्याचरसेटमा राखिएकै अवस्थाबाट निकालेर अण्डा नष्ट गरिएको हो ।

ह्याचरी उद्योग सङ्घका केन्द्रीय र जिल्ला पदाधिकारीको टोली र क्वारेन्टाइनका चिकित्सकको टोलीले उद्योगमै पुगेर अण्डा नष्ट गरेका हुन् । आज मिलन ह्याचरीले अवैध रुपमा ल्याएको १० हजार अण्डा पशुविज्ञ केन्द्रमा नष्ट गर्ने तयारी गरिएको पौडेलले बताए । अण्डासहितको गाडी उद्योगीले नियन्त्रणमा लिई पशुविज्ञ केन्द्रमा बुझाएका हुन् । यी ह्याचरीले यसअघि पनि पटक–पटक भारतबाट अवैध रुपमा अण्डा ल्याउने गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.