एनसेलका टावरमा भएको बम बिस्फोटको जिम्मेवारी विप्लव समूहले लियो

| 2019 Feb 24 | 05:47 pm 2316

काठमाडौँ, फागुन  १२ :  नेत्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले ललितपुरको नख्खु लगायत देशका विभिन्न स्थानमा रहेको एनसेल टावरमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ । विप्लव नेतृत्वको नेकपाका नेताले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विष्फोट आफूहरुले गरेको स्विकार गरेका हुन् ।

चन्द नेतृत्व नेकपाका एक नेताले भने, ‘हामीले पैदलयात्री लक्षित गर्ने गरी प्रेसर कुकुर बम पड्एका होइनौ । तर, मानवीय क्षति भयो, त्यसका लागि क्षमाप्रार्थी छौं । हामीले एनसेलले गर्दै आएको घोटलामाथि चेतावनी दिन मात्र बम पड्काएका हौं ।’

शुक्रबार राति नेकपाले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी प्रेस कुकुर बम पड्काउँदा १ जनाको मृत्यु भएको थियो भने, दुई जना घाइते भएका थिए।

यसअघि एनसेलमाथि अर्बौं रुपैयाँ कर छलेको, प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँ कर्मचारीहरूलाई खरिद गरेको लगायतका आरोप विप्लव समूहले लगाउँदै आएको थियो। त्यसैको चेतावनी दिन बम बिस्फोट गराइएको ती नेताको दाबी थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.