सहरको बसाइँसराइले रित्तियो टोकरी

रिपोर्ट नेपाल | 2019 Feb 24 | 03:16 pm 2998

बागलुङ, फागुन १२ : जिल्लाको गलकोट नगरपालिका–७ (साविक मल्म गाविस– ९) स्थित टोकरी गाउँ बसाइँसराइका कारण रित्तिएको छ । बसाइँसराइले सामाजिक काम र बाँझो जमीनको कुरै छाडौँ, गाउँमा जिउँदा जन्ती मर्दा मलाम जाने मानिससमेत छैनन् ।

टोकरीका स्थानीयहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत भौतिक पूर्वाधारको खोजीमा बसाइँसरेर जाँदा गाउँनै रित्तिएको स्थानीयहरूले बताएका छन् ।

जम्मा चालीस घर रहेको टोकरी गाउँमा बसाइँसराइका कारण अहिले १३ घरमा मात्र बसोबास गर्दै आएका र बाँकी घर खण्डहर जस्तै भएको स्थानीय गंगाबहादुर थापाले बताए ।

टोकरीका अधिकांश युवाहरू जापानलगायतका मुलुकमा जाने र शहर बजारमा घर खरीद गर्दा बसाइँसराइ बढेको हो । टोकरीका स्थानीयबासिन्दा नगरपालिकाको केन्द्र रहेको हटिया, जिल्ला सदरमुकाम बागलुङ, पोखरा, काठमाडौं, बुटवल, चितवनलगायतका क्षेत्रहरुमा बसाइँसराइ गर्ने गरेका छन् ।

दश वर्षदेखि यता बसाइँसराइको दर ह्वातै बढेपनि कानूनीरूपमा बसाइँसराइ गरेर जाने परिपाटी नरहेको कार्यवाहक वडाध्यक्ष लोकबहादुर थापाले बताए । अहिले टोकरी गाउँमा बालबालिका, वृद्धवृद्धा गरी करीब ६० जना रहेको स्थानीय विष्णु थापाले बताए ।

बढ्दो बसाइँसराइका कारण टोकरी गाउँमा रहेको देउराली आधारभूत विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या घटेर अन्य विद्यालयसँग गाभ्ने अवस्थामा पुगेको छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा १४ विद्यार्थी रहेको प्रधानाध्यापक केयरसिंह थापाले जानकारी दिए।

त्यस क्षेत्रमा सामान्य आधारभूत सेवा सुविधाको पहुँच नपुग्नु र विप्रेषणमार्फत आएको रकम शहर बजारमा लगानी गर्नु नै बसाइँसराइको प्रमुख कारण रहेको स्थानीयहरु बताउँछन् । टोकरी गाउँ जिल्लामै उच्च बसाइँसराइ हुने गाउँ मध्येमा पर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.