विस्फोटका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने, घटनामा संलग्‍न छ जना पक्राउ

| 2019 Feb 23 | 01:22 pm 1665

काठमाडौं, फागुन ११ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालय अगाडि गराइएको बम बिष्फोटमा भएका घाइतेको उपचार सरकारले व्यहोर्ने भएको छ। शनिबार बिहान घाइते र उनका आफन्तलाई भेटेर गृहमन्त्री थापाले दोषीलाई कानुनको कठघरामा ल्याउने बताए ।

घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका आफन्तलाई भेट्न मन्त्री थापा मेडिसिटी अस्पताल पुगेका थिए । मन्त्री थापाको साथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल गएका थिए ।

शुक्रबार बेलुका नख्खुस्थित एनसेल केन्द्रीय कार्यालय अगाडिको गेटमा अज्ञात समूहले बम विष्फोट गराउँदा प्रतिक्षा खड्का, उषा मानन्धर र सिंहप्रताप गुरुङ घाइते भएका थिए । गुरुङको भने उपचारको क्रममा मेडिसिटी अस्पतालमै मृत्यु भइसकेको छ । मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने गृहमन्त्री थापाले बताए। प्रतिक्षा र उषाको सोही अस्पतालमा उपचार जारी छ ।

मन्त्री थापाले यस्ता घटना नख्खुमा मात्र नभइ देशभर नै भएको बताउँदै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘घटना दुःखद भयो । हामी कडाइपूर्वक छानबिन गर्छौं र दोषीलाई कानुनको कठघरामा ल्याउँछौं ।’

६ जना पक्राउ

ललितपुर महानगरपालिका–४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोटको घटनामा संलग्‍न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन।

विष्फोटनबाट एनसेल कार्यालयको सुरक्षा गार्ड बस्‍ने घरको शिसा र नजिकैका ५ घरका शिसा फुटेर क्षति भएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक समेतको टोली तत्काल घटनास्थलमा खटि गई घाइतेहरुलाई अस्पताल पठाउनुका साथै थप उद्दार कार्य तथा अभियुक्तहरुको खोजी गरेको थियो ।

यसैबीच प्रहरीले एनसेल कार्यालयमा रहेको सीसीटीभीमा कैद भएको फुटेज अध्ययन थालेको छ । फुटेज अध्ययन पछि घटनाबारे थप तथ्य पत्ता लाग्ने प्रहरीले विश्वास लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.