१ अर्ब ५३ करोड घोटाला भएकाे आशंका

| 2019 Feb 22 | 04:09 pm 1647

काठमाडौं, फागुन १० : वाइडबडी विमान खरिद प्रकरण सेलाउन नपाउँदै नेपाल वायु सेवा निगम भित्र आर्थिक चलखेलको अर्को प्रयास भएको आशंकामा संसदीय समितिले छानबिन सुरु गरेको छ । १ अर्ब ५३ करोड घोटाला भएको हुन सक्ने आशंका गर्दै संसदको लेखा समितिले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेण्डर प्रक्रिया रोक्दै छानविन सुरु गरेको हो ।

शुक्रबार बसेको समितिको बैठकले टेण्डर प्रक्रिया कानुन अनुरुप नरहेको तथा ठूलो चलखेल रहेको भन्द्यै ए ३२० न्यारो बडी विमान मर्मतका लागि पार्टस सप्लायर्सका लागि आह्वान गरेको टेण्डर प्रक्रिया रोक्न निर्देशन समेत दिएको छ । समिति सभापति भरतकुमार शाहले मन्त्रालयलाई तत्काल टेण्डर रोक्न र त्यससम्बन्धका सम्पूर्ण फाइल झिकाउन निर्देशन दिनुभएको थियो ।

निगमले ए ३३० वाइड बडी विमान मर्मत पार्ट्स सप्लायर्स र ए ३२० न्यारो बडीको पार्ट्स सप्लायर्स र इन्जिन लिजमा लिन एउटै टेण्डर आह्वान गरेको थियो । तर मदन खरेल निगमको कार्यकारी निर्देशक बनेपछि यी सबै टेण्डर एकै ठाउँमा राखेर गर्न नमिल्ने भनेर टेण्डर प्रक्रिया नै खारेज गरेका थिए । तर, समितिमा खरेलले कानुन सम्मत नभएकाले लुृब्रिहंस कम्पनीलाई दिइएको ठेक्का प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गर्नु परेको जवाफ दिएका थिए ।

टेण्डरमा चार कम्पनी प्रतिस्पर्धामा थिए । लुफ्थान्चा कम्पनीले आफूले सबैभन्दा कम ४५ प्रतिशत कममा टेण्डर गरे पनि वायु सेवा निगमले रद्द गरको भन्दै लेखा समितिमा उजुरी दिएको थियो । उजुरीकर्तासँग छलफल गर्दा टेण्डरमा ठूलो चलखेल भएको देखिएपछि समितिले छानबिन अघि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.