नेविसंघको घेराबन्दीमा सानेपा : नेतालाई ‘निर्वाचन’ डर, आफ्‍नालाई अध्यक्ष बनाउनुपर्ने कर

| 2019 Feb 22 | 07:39 am 2691

काठमाडौं, फागुन १० : प्रमुख प्रतिपक्ष दल कांग्रेसमा विधानको बहस निरन्तर धकेलिँदै गएको छ। महासमितिका पाँचवटा प्रस्तावलाई परिमार्जन गरेर अन्तिम टुंगो लगाउन एक महिनामा बसेका कांग्रेस केन्द्रीय समितिका आठ दिनका बैठक प्रस्तावलाई अन्तिम रूप दिन असफल भएका छन्। गत १० माघमा विधान परिमार्जनसहितका विषयमा छलफल गर्न बसेयता पटक-पटकका आठ दिनका बैठकमा मुख्य गरी महाधिवेशन प्रतिनिधि हुन केन्द्रीय पनि जितेर आउने कि स्वतः हुने भन्नेमा मुख्य विवाद छ। समानुपातिकतर्फ एकपटक मात्रै प्रतिनिधित्वको अवसर दिने र सधैं दिने भन्ने विवाद पनि टुंगो लाग्न सकेको छैन।

बिहीबार केन्द्रीय समितिको बैठक नै बस्न सकेन। सभापति देउवा, नेता पौडेल, उपसभापतिद्वय निधि र गच्छदार, महमन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासहितका पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल चल्यो। नौ दिनअघिदेखि घोषणा गरिएको केन्द्रीय समिति बैठक बस्न सकेन। विधान, राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्तावसहितका विषयमा केही दिन अनौपचारिक छलफल गराउने भन्दै सभापति देउवाले १२ फागुनमा मात्र केन्द्रीय समितिको बैठक बस्ने भनेपछि केन्द्रीय सदस्य चार घन्टा केन्द्रीय कार्यालयमा बसेर फर्किए।

महासमितिबाट पारित अरू प्रस्तावमाथि नेताहरूबीच खासै विवाद छैन। तर, विधानका केही प्रावधानमा भने समान मत छैन। केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने कि निर्वाचित भएर आउने र समानुपातिक आरक्षण एकपटक मात्र दिने कि पटकपटक भन्नेमा सबैभन्दा बढी विवाद छ।

२८ र २९ माघमा पनि केन्द्रीय समितिको बैठक बस्यो।दुवै दिनका बैठकमा नेताहरू केन्द्रीय सदस्य निर्वाचित भएर मात्रै महाधिवेशन प्रतिनिधि हुन पाउने कि स्वतः भन्नेमा विभाजित देखिए।२८ माघमै कार्यकाल सकिइसकेका नेविसंघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए।

२९ माघको बैठक पनि नेविसंघमा तदर्थ समिति कसरी गठन गर्ने भन्नेमै सकियो।बरु कार्यसमितिले महाधिवेशन गर्न नसकेका महरलाई धन्यवाद दिँदै राजीनामा दिँदादिँदै उनले गरेका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, इकाइ अध्यक्षसहितको मनोनयनलाई खारेज गरिदियो।१ फागुनमा बस्ने बैठकबाट विधानलाई अन्तिम टुंगो लगाउने आश्वासन सभापति देउवाले दिए।

कांग्रेस नेताहरू बिहीबार पार्टी कार्यालयमा नेविसंघका नेता–कार्यकर्ताको घेराबन्दीमा परे। पार्टी नेतृत्वले नेविसंघमा विधानको बेवास्ता गर्दै ३२ वर्षमाथिको नेतृत्व ल्याउन खोजेको र विधानको पालना गर्न नखोजेको भन्दै उनीहरूले नाराबाजी गरे।नेविसंघमा कुन्दन काफ्ले समूहका नेताहरूले नाराबाजी गर्दा झन्डै झडपको स्थिति उत्पन्न भएको थियो।रत्नहरि ढुंगेल, सुशील भट्ट, निरञ्जन थापा, जानुका पन्तसहितका नेताहरूले ३२ वर्षे उमेरहद लगाएर तदर्थ समिति बनाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.