दयाहाङ राई सद्भावना दूत नियुक्त

रिपोर्ट नेपाल | 2019 Feb 21 | 05:55 pm 2197

खोटाङ, फागुन ९ :अभिनेता दयाहाङ राईलाई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु गरिएको किराँत संग्रहालयको सद्भावना दूत बनाइएको छ।

किराँत समुदायको ऐतिहासिक थलो मानिने महेश्वरीमा चन्दा संकलन अभियानबाट सुरु गरिएको संग्रहालय निर्माण अभियानलाई पूरा गर्नका लागि राईलाई सद्भावना दूत बनाइएको हो। संग्रहालय निर्माण सम्पन्न गर्नका लागि किरात राई यायोक्खा जिल्ला कार्य समिति काठमाडौंको समन्वयमा राईलाई आइतबार सद्भावना दूत बनाईएको संग्रहालय निर्माण समितिका संयोजक खुक्सङ खम्बुले बताए।

किराँत जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषभुषा, गरगहना लगायतका बहुमुल्य सम्पदालाई संकलन गर्दै संरक्षणका लागि महेश्वरीमा निर्माण सुरु गरिएको छ। करिब ५५ लाखको लागतमा ३ वर्षमा पूरा गर्नेगरी तीन तले पक्की भवन निर्माण गरि त्यसमा संग्रहलय स्थापना गरिने छ। संग्रहालयको भवन निर्माणका लागि देशबिदेशबाट सहयोग समेत प्राप्त भइरहेको खम्बुले बताएका छन्।

सद्भाव दूत दयाहाङले राई जातिको ऐतिहासिक सङ्ग्रहालय निर्माण सम्पन्न गराउन तन–मन दिएर लागि पर्ने प्रतिबद्धता जनाएका छन् । नेपालकै इतिहासमा पहिलो पटक महेश्वरीमा सङ्ग्रहालय निर्माण शुरु गरिएपछि जिल्लावासी हर्षित बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.