राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति

रिपोर्ट नेपाल | 2019 Feb 21 | 02:36 pm 2156

दिक्तेल,  फागुन ९ : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् ।

यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उनले नेपाली सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने सन्दर्भमा जारी भएको सात लक्ष्य र १५१ कार्यसहितको मार्गनिर्देशन कार्यान्वयन गर्ने विषयमा दायाँ–बायाँ नहुने दृढता व्यक्त गरेका छन् ।

प्रधानसेनापति थापाको कमाण्ड मार्गनिर्देशनमा हतियार र उपकरण खरीद, शान्ति सेना भर्ना छनोट, बढुवालगायतका विषयलाई पारदर्शी तुल्याउने व्यक्त गरिएको छ । सेनापति थापाले भने, ‘गल्ती हुन्छ भनेर काम नगर्ने कमाण्डर होइन, सङ्गठनलाई चुनौतीको सामना गर्ने गणपति आवश्यक छ, सही नियतबाट भएको गल्ती सुधार्न सकिन्छ, राम्रो कामका लागि लिखित आदेश पर्खनु पर्दैन ।’

सुरक्षा र विकास एकअर्काका पूरक भएकाले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन हामीले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ भन्दै उनले राष्ट्र, जनता र सेनाको हितका खातिर गौरव गर्ने ढङ्गबाट जिम्मेवारी सम्हाल्न निर्देशन दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.