दुई चालक नराख्‍ने ४५ सवारीसाधन पर्‍याे कारवाहीमा

| 2019 Feb 21 | 11:06 am 1736

काठमाडौँ,  फागुन ९ :  विविध कारणले अत्यधिक मात्रामा सवारी दुर्घटना भएको हुँदा उक्त दुर्घटना न्युनिकरण गर्नका निमित्त लामो दूरीको सार्वजनिक सवारीमा दुई चालक राख्नुपर्ने ऐन छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ ।

लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा चेकजाँचका क्रममा कारवाही गरेको छ ।

गत माघ २७ गतेदेखि प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे/नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याई कार्य गरिरहेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार यातायात व्यवस्था ऐन , २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको जानकारी दिए।

निर्देशनालयले लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको छ । उक्त एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण हुने बताइएको छ ।

उक्त एप्स पहिलो चरणमा काठमाडौँको नागढुङ्गामा, प्रदेश नम्बर २ को सर्लाहीको कर्मैया र प्रदेश नम्बर ५ को बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको थियो । कानून नमान्ने सवारी साधनलाई एक हजार जरिवाना गरेको महाशाखाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.