काठमाडौं, फागुन ७ : कञ्चनपुर भीमदत्तनगर–२ कि बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको डीएनए जाँचको लागि अमेरिका पठाउने तयारी सुरु भएको छ । डीएनएको वैधानिकतामै प्रश्न उब्जिएका वेला परीक्षणका लागि अमेरिका पठाउन आवश्यक प्रक्रिया सुरु गरेको स्रोतले जनाकारी दियो ।
निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाणका रूपमा रहेको ‘ईलेक्ट्रोफेरोग्राम’ परीक्षणमा प्रश्न उठेपछि त्यसको जाँचका लागि अमेरिका पठाउन थालिएको हो ।
प्रहरीको विधि विज्ञान प्रयोगशालामा ‘अटोसोमल एसटीआर’ निकाल्ने उपकरण मात्रै रहेको र अन्य उपकरण नरहेपछि विस्तृत रिपोर्टका लागि अमेरिकाको ल्याबमा पठाउन लागिएको हो ।
प्रहरीको प्रयोशालामा भेजाइनल स्वाबबाट निकालिएको नमुना बाँकी नराखिएको अधिकारीहरूले बताउँदै आएका छन् । नमुना निकै कम भएकाले त्यसको संरक्षण गर्न नसकिएको प्रहरी अधिकारीको तर्क छ । निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको नमुना प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै परीक्षण गरिएको थियो ।
गत साउन १० गते साथीको घरमा निस्किएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको पुष्टि भए पनि हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।