महाशिवरात्रिको लागि पशुपति क्षेत्रमा तयारी शुरु

| 2019 Feb 19 | 03:06 pm 2751

काठमाडौँ, फागुन ७ : भव्यताका साथ मनाउने महाशिवरात्रि विगतको वर्ष झैं यस वर्षको लागि पशुपति क्षेत्रमा तयारी शुरु गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी महाशिवरात्रिका लागि तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

त्यस्तै कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन अनुगमन तथा पास व्यवस्था उपसमितिको गठन गरिएको छ ।

त्यसैगरी अन्य व्यवस्थापनमा परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था र लाइट तथा साजसजावट, सदस्य रमेशराज शिवाकोटीको संयोजकत्वमा साधुसन्त सेवा एवं धार्मिक कार्यक्रम, सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा स्वास्थ्य, वातावरवण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, सदस्य घनश्याम उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार व्यवस्था उपसमिति गठन भएको छ ।

अन्य ठाउँबाट महाशिवरात्रिका लागि साधुसन्त आउने क्रम पनि शुरु भइसकेको कोषले जनाएको छ । यस वर्ष ११ लाखभन्दा बढीले मूल मन्दिरभित्रै प्रवेश गरेर पूजाआज एवं दर्शन गर्ने गरी तयारी गरिएको बताए ।

यस वर्षको पर्वमा भारतबाट धार्मिक पर्यटक बढी आउने अनुमान गरिएको छ । इलाहावादस्थित प्रयागराजमा भएको कुम्भलगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढ्ने कोषले जनाएको छ । कुम्भमा स्नान गरी मेला भरेका दर्शनार्थीले एउटा दिव्य शिवलिङ्गको दर्शन गर्नुपर्ने धार्मिक मान्यताका कारण भारतीयको सङ्ख्या बढ्ने जानकारी दिए ।

पशुपति क्षेत्रमा सोचेभन्दा राम्रो सफलता प्राप्त भएपछि नेपाल प्रहरी, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रमलगायत सामाजिक संस्थाको सहकार्यमा जिल्लाव्यापी बनाइएको कोषका सदस्यले जानकारी दिएका छन् ।

यस वर्ष फागुन २० गते सोमबार महाशिवरात्रि पर्व रहेको छ । पर्वका लागि तीनवटै सुरक्षा निकायको संयोजनमा पशुपति क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.