काठमाडौँ, फागुन ५ : प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीको लागि सुरक्षा र नाफा दुवै रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभमा मन्तव्य दिंदै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई नेपालले खुला हृदयले स्वागत गर्ने बताए ।
‘हामीले विश्वका अन्य देशसँगै हिड्नु छ। हामीसँगै कुनै चाहना छैन। हाम्रो एक मात्र एजेण्डा विकास हो,” उनले भने, हामीले आर्थिक बृृद्धि र सामाजिक समृद्धिको लागि काम गरिरहेका छौं जसले नेपाली जनताको लामो समयदेखिको सपना पूरा हुन्छ।’
उनले वैदेशिक लगानीमा नेपालमा उद्योग खोल्ने र आर्थिक क्रियाकलापमा मात्रै सघाउने नभइ बाँकी विश्वसँग जोड्न पनि सघाउने बताए।
‘नेपाल विशाल सम्भावनाको मुलुक हो,’ उनले भने ,‘नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा छ। नेपालमा व्यापार गर्न सुरक्षित र नाफा मुलक दुवै छ।’
उनले सुर्य नेपाल, डाबर नेपाल जस्ता कम्पनीको उदाहरण दिंदै सानो लगानीमा सुरु भएको उद्योग विशाल बनेर फैलिएको बताए।