काठमाडौं, फागुन ५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (आइतबार) पनि संसदीय सुनुवाई समितिको बैठक बहिष्कार गरेको छ ।पाँच वटा संवैधानिक आयोगमा सिफारिस भएका अध्यक्षहरुको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक कांग्रेस सांसदहरुले बहिष्कार गरेका हुन् ।
कांग्रेसले संवैधानिक परिषदले प्रक्रिया नपुर्याई विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको थियो । १५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४ जना सांसद छन् ।
कांग्रेसको बहिष्कारका बाबजुद आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ ।
सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले कांग्रेस सांसदहरु आफूलाई जानकारी नगराई अनुपस्थित भएको बताएका छन् । उनले फागुन ७ गतेको बैठकमा उनीहरुले बहिष्कार गरे पनि बहुमतले निर्णय गर्ने जानकारी दिएका छन् ।