बैंकक, माघ २९: थाइल्यान्डकी राजकुमारी उबोलरत्ना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार बन्न नपाउने भएकी छन् । गत शुक्रबार प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले सोमवार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो ।
थाइल्यान्डको शक्तिशाली सिनावात्रा घरानियाँको प्रभावमा रहेको थाई रक्षा चार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गरेकी थिइन् । उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाइ तथा थाई नरेश माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएका थिए ।
उनी अहिले पनि राजपरिवारकी सदस्य भएकाले राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने नरेशको भनाइ थियो ।
थाइल्यान्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रूपमा हेरिने भएकाले राजसंस्थाको आशयलाई पालना गरेको पाइन्छ । नरेशकै आशय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीले बताएका छन् ।
उनको घोषणापछि थाइल्यान्डसहित विश्वभर भावी राजनीतिका बारेमा अनेक चर्चा र अनुमान गरिएको थियो । मार्च २४ का दिन हुने आमनिर्वाचनका लागि राजकुमारीलाई अगाडि सारेको रक्षाचार्टले अब अर्को उम्मेदवारलाई अगाडि बढाउनुपर्ने भएको छ । प्रधानमन्त्रीका लागि विगत पाँच वर्षदेखि थाइल्यान्डको सत्तामा रहेका सैनिक नेता प्रयुत चान–ओ–चाले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
सैनिक विद्रोहबाट राजनीतिमा आएका प्रयुतले यसपटकको निर्वाचनमार्फत आफूलाई नागरिक नेताका रूपमा स्थापित गराउने प्रयासमा छन् । सैन्य विद्रोहबाट पदच्युत गरिए पनि थाइल्यान्डको राजनीतिमा पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राको अत्यन्त प्रभाव देखिन्छ । उनलाई थाइल्यान्डको सेना र बैंककस्थित सम्भ्रान्त वर्गले नरुचाए पनि ग्रामीण क्षेत्रका गरिब परिवारले अत्यन्त सम्मान गर्ने गरेका छन् । उनलाई सन् २००६ मा सैनिकले गरेको सत्ताविद्रोहबाट पदच्युत गरिएको थियो ।
त्यसपछि सन् २०१४ मा उनकी बहिनी यिङ लकको सत्तामा पुनरागमन भएको थियो । उनलाई पनि भ्रष्टाचारको आरोपमा जेल सजाय दिएर सत्ताच्युत गरिएको थियो । उनाीहरू अहिले निर्वासनमा छन् भने देशबाहिरैबाट थाई राजनीतिलाई निर्देश गरेका छन् ।