भारी हिमपातसँगै चलेको हावाहुरीले एक दर्जनभन्दा बढी विद्यालयको छाना उडायो 

रिपोर्ट नेपाल | 2019 Feb 10 | 05:52 pm 2231

हुम्ला, २७ माघ : भारी हिमपातसँगै चलेको तीव्र हावाहुरीले एक दर्जनभन्दा बढी विद्यालयको छाना उडाएको छ । यही माघ ८ गतेदेखि पटक–पटक हिमपातपछि चलेको आएको हुरीले सदरमुकाम सिमकोटमै रहेको मानसरोवर मावि र साहारा समूहको छात्रावासको छानो उडाएको थियो ।

त्यसैगरी बरगाउँस्थित रलिङ मावि, खार्पुनाथ गाउँपालिका–१स्थित मालिका मावि, प्युसास्थित कैलाश आधारभूत विद्यालयका छाना उडाएको मानसरोवर माविका शिक्षक धनबहादुर ऐडीले बताए । उक्त माविको कक्षा १२ को सबै कक्षा कोठाको जस्ता हुरीले उडाएपछि कोठाभित्र करीब तीन फिट हिउँ जमेको र फाल्नसमेत समस्या भएको उनले जानकारी दिए ।

फरक क्षमता भएका बालबालिकाको बसोबास रहेको छात्राबासको छानो उडाएपछि विद्यार्थीलार्ई समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन क्षेष्ठले बताए । अहिले छानो उडाएपछि फरक क्षमता भएका बालबालिका खुला आकाशमुनि बस्न बाध्य भएका छन् । उता लाली माविको दुईतले चार कोठा र कैलाश आधारभूत विद्यालयका आठ कोठाका छानो हुरीले उडाउँदा पठनपाठनमा समस्या भएकोे कैलाश माविका प्रधानाध्यापक भानुभक्त जैसीले जानकारी दिए ।

कोठामा राखिएका खाद्यान्न हिउँले भिजेकाले खाना पकाउन समेत नहुने भएको छ । हिउँ र हुरीले विद्यालयको कार्यालय सञ्चालन गरेको कोठामा समेत क्षति पुगेको छ । यसैगरी स्थानीय बासिन्दाका टिनले छाएका घरका छाना समेत उडाएको छ । खार्पुनाथ गाउँपालिका–१ निवासी तेजबहादुर शाही, जीतबहादुर शाही र लुर्के शाहीको घरको छान उडाएको जितबहादुरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.