काठमाडौं, माघ २६ : केही दिनदेखि परेको झरीका कारण राजधानी वरिपरीका पहाडहरूमा हिमपात भएको छ। शनिबार बिहानदेखि अग्ला डाँडाकाँडा हिउँले सेताम्य भएका छन्।
लगातारको बर्षातपछि भएको हिमपातले फूलचोकी, चन्द्रागिरि, शिवपुरी, नागार्जुन, कपन गुम्बा, बूढानीलकण्ठसहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको हो। हिउँ परेपछि चन्द्रागिरि र फूचोकीसहितका क्षेत्रमा हिउँ खेल्नेको लर्को लागेको छ। यससँगै राजधानीमा पनि अत्यधिक चिसो बढेको छ।
देशभरका अन्य स्थानमा अग्ला डाँडामा हिउँको घुम्टोले छोपीउका डाँडाहरु निकै मनमोहक देखिएका छन्।
काठमाडौं जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिवार रातिदेखि नै मौसममा सुधार आउँदै जाने बताएको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले शक्तिशाली मौसमी प्रणाली भित्रिएका कारण विगतमा जस्तो छिटोछिटो मौसममा सुधार आउन नसकेको बताए ।
उनले शनिबार रातिदेखि मौसममा सुधार आउने र आइतबार अधिकांश भागमा मौसम सफा हुने जानकारी दिए । शनिबार अपराह्न पश्चिमदेखि मौसममा सुधार आउने र आइतबारसम्म सबैक्षेत्रमा सुधार आउने महाशाखाको भनाई छ । पश्चिम वायुसँगै आएको न्यूनचापीय प्रणाली र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुका कारण बुधबारदेखि देशैभर वर्षा र हिमपात भएको थियो ।
