काठमाडौं, माघ २४ : सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले वाइडबडी विमान प्रकरण जिउँदै रहेको र छानबिन समितिले काम गरिरहेको दाबी गरेका छन् । मन्त्री बाँस्कोटालाई बिहिबारको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधे – मन्त्रीज्यू, वाइड बडी प्रकरण सेलायो?
सिधा जवाफ दिने मन्त्री बाँस्कोटाले जवाफ फर्काए – ‘कहाँ सेलाउनु। हिजो अस्ति सडकमा काँधमा बोकेर हिँडैको देखेको थिएँ। हराएको छैन।’
उनको व्यंग्य प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वाइडबडीको प्रतीकात्मक चित्रसहितको विरोध प्रदर्शनप्रति थियो ।
उनले वाइडबडी प्रकरणमा प्रतिपक्षीका नेताको मागबमोजिम नै छानबिन, जाँचबुझ समिति बनाइएको र समितिले काम गरिरहेको जानकारी आफूलाई भएको बताए ।
“समिति मागबमोजिम नै गठन भएको हो । त्यसले काम गरिरहेको छ । काम गर्न नसकेको सूचना हामीलाई छैन,” उनको प्रष्टीकरण थियो ।
त्यस्तै उनले मेलम्चीमा सरकार पीडित भएको जानकारी दिए । उनले सम्झौता पूरा नहुँदै ठेकेदारले किन काम गर्न छाड्यो भनेर सरकार अचम्मित रहेको बताउँदै ठेकेदारसँग कुराकानी भइरहेको र छिट्टै टुंगो लाग्ने बताए ।
मेलम्ची खानेपानी काठमाडौं सहरको मात्रै परियोजना नभएर देशकै ठूलो आयोजना भएकाले सरकारको ध्यान गएको र गतिरोध हटाइने विश्वास उनले व्यक्त गरे