बम काण्डमा मुछिएका विप्लवसहित २६ जनालाई सफाइ

रिपोर्ट नेपाल | 2019 Feb 05 | 07:28 pm 1262

भोजपुर, माघ २२ : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ मा भोजपुरमा बम विस्फोट गराएको आरोपको मुद्दा खेपेका नेत्रविक्रम चन्द विप्लवसहित २६ जनालाई भोजपुर जिल्ला अदालतले सफाइ दिएको छ।

चुनावका समयमा जिल्लाका ३ ठाउँमा बम विस्फोट गराएको आरोप उनीहरुमाथि लागेको थियो। सफाइ पाउनेमा महासचिव विप्लव, प्रवक्ता खड्ग विश्वकर्मा, पोलिटब्युरो सदस्य पदमबहादुर राईसहित उच्च नेता पनि छन्। तत्कालीन उम्मेदवार हालका प्रदेश १ मुख्यमन्त्री शेरधन राईलगायत माथिको आक्रमणमा संलग्न भएको भन्दै अदालतमा २६ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

सफाइ पाउनेमा कार्यकर्ता वम विष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङलगायत छन्। त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई जनही ४० हजार जरिवानाको फैसला भएको अदालतका श्रेस्तेदार राजकुमार दाहालले बताए। स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किरात राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किरातीको ठेगाना स्पष्ट नखुलेकोले तामेलीमा राखिएको पनि उनले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.