काठमाडौं, माघ २० : यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १ सय ५ रनको लक्ष्य दिएको छ ।
वर्षाका कारण झन्डै २ घन्टा अवरुद्ध भएपछि सुरु भएको खेलमा यूएईका कप्तान मोहम्मद नाभीदले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । दश ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन बनाएको हो ।
नेपालका कप्तान पारस खड्काले २९ रन बनाए भने ज्ञानेन्द्र मल्लले ११ रन बनाए । पहिलो पटक ओपनिङमा आएका पवन सर्राफले रनको खाता खोल्न सकेनन् । दीपेन्द्रसिंह ऐरी २ रन बनाएर आउट भएपछि पारस र सन्दीप जोराले चौथो विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए ।
पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाएका सन्दीपले २८ रन बनाए । ११ बलमा ३ छक्का हानेका सन्दीपले विनोद भण्डारीसँग पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरे । करण केसी १० रन बनाएर आउट हुँदा विनोद भण्डारी २१ रन बनाएर पवेलियन फर्किएका थिए । आइतबार प्रदीप ऐरीको स्थान लिएका विनोदले १२ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाएका हुन् ।
तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला १–१ को बराबरीमा छ । पहिलो खेल यूएईले २१ रनले जितेको थियो भने दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।