किन पक्राउ परे राजु गोर्खाली

| 2019 Feb 03 | 02:12 pm 3051

काठमाडौं, माघ २० : महानगरीय अपराध महाशाखाले काठमाडौं मलका ठेकेदार राजु गोर्खालीलाई पक्राउ गरेको छ ।

गोर्खालीलाई काठमाडौं मलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । व्यपारीले आफूहरुलाई धम्काएर रकम मागेको उजुरी गरेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको बताएको छ ।

गोर्खालीलाई महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरको नेतृत्वमा खटिएको टोलीले नयाँ बानेश्वर चोकबाट आइतबार पक्राउ गरेको थियो । विगत दुई हप्तादेखि राजु गोर्खालीलाई अपराध महाशाखाले खोजी गरिरहेको थियो ।

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई महंगो भाडामा दिने गरेको थियो ।

प्रहरीले गोर्खाली लगायतको समूहविरुद्ध संगठित अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका गोर्खालीलाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको बुझिएको छ ।

प्रहरीले गोर्खालीसँगै उनका सहयोगी समिन उद्दिन, प्रकाश थापा, निलन घिमिरे र शिव खड्कालाई पनि प्रतिवादी बनाएको बुझिएको छ । गोर्खाली बाहेक आरोपीत अन्य व्यक्तिहरु फरार रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.