पोखरा, माघ १९ : पोखरा लेखनाथ महानगरपालिकाको गाडीमा आगजनी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले गाडी जलाएको आरोपमा ५ जना नेविसंघ सम्बद्ध विद्यार्थी नेतालाई पक्राउ गरेको हो।
नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला-ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेल पक्राउ परेका हुन् ।
शनिबार विहान महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा पोखरा ७ मासबारमास्थित घरेलु कार्यालय नजिक आगजनी गरेको हो ।
नेवि संघले बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न देशैभर सरकारी गाडी रोक्ने अभियान चलाएको थियो । बिदाको दिन सरकारी गाडी चलाएको भेटिएकाले जलाइएको नेवि संघ कास्कीका नेता सरोज केसीले बताए । गाडीमा रहेका मानिसहरुलाई भने झारिएको थियो । दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ ।
महानगरका सूचना अधिकारी गंगालाल सुवेदीका अनुसार स्वास्थ्य महाशाखामा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार लिखित परीक्षा थियो । त्यसको तयारीका लागि शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन उनको निवास मासवार गएको गाडीमा आगजनी भएको हो ।