दोस्रो टी–२० : नेपालले यूएईलाई ४ विकेटले हरायाे

| 2019 Feb 01 | 06:19 pm 1864

काठमाडौं, माघ १८ : टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र पवन सर्राफको साझेदारी महत्वपूर्ण रह्यो ।  दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।

खराब सुरुआत गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै पारस खड्कालाई गुमाएको थियो । टिमको खातामा ९ रन भएका बेला अर्का ओपनर प्रदीप ऐरी ८ रन बनाएर आउट भए ।

तेस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदे पेभेलियन फर्किएका थिए । पारस आउट भएलगत्तै क्रिजमा आएका करण केसीले २३ बल खेल्दै २० रन बनाए ।

१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् ।

ज्ञानेन्द्रसँग २६ रनको साझेदारी गरेका करणले दुई चौका र एक छक्का प्रहार गरे । डेब्यु टी–२० मा अर्धशतक बनाउँदै विश्वकै कान्छो खेलाडी बनेका सन्दीप जोरा शुक्रबारको खेल्मा भने चल्न सकेनन् ।

चार बल फेस गरेका सन्दीप १ रन बनाउँदै आउट भएका थिए । पाँच विकेट गुमाँउदा ४६ रन बनाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन शर्राफले ५५ रनको साझेदारी गरेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएई १९.२ ओभरमा अल आउट हुँदै १०७ रन बनाएको थियो । यूएईका लागि ओपनर सि.पि रिजवानले सर्वाधिक ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा यूएई सामान्य स्कोरमा नै समेटिएको थियाे । यूएईलाई सस्तैमा रोक्न  अभिनास बोहराले ३ विकेट लिँदा सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.