डा केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा

| 2019 Jan 31 | 07:09 am 1950

काठमाडौं, माघ १७: चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा गोविन्द केसीको माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका छन्। डा केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि उनको अनशन लम्बिँदै गएको छ। केसीको माग पूरा गर्न र जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका चिकित्सक सडकमा उत्रेका हुन्।

डा केसी आफ्नो १५औं अनशन क्रममा सरकारले गरेको सहमति कार्यान्वयन माग राखेर पुस २५ गतेदेखि अनशनमा छन्। उनी अनशन बसेको बुधबार २२ दिन पुगेको छ। लामो समयसम्म खाना नखाँदा केसीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको चिकित्सकले जनाएका छन्। चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर केसी अनशन बसेको यो सोह्रौंपटक हो। अहिले उनी त्रिवि शिक्षण अस्पताल, काठमाडौंको गणेशमानसिंह भवनमा अनशनरत छन्।

डा केसीको मुख्य माग १५औं अनशनका क्रममा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनाउनुपर्ने छ। सरकारले सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक ल्याउने तयारी गरेपछि त्यसको विरोधमा केसी १६औं पटक अनशन थालेका हुन्। तर सरकारले विधेयक सच्याउनुपर्ने केसीको माग सुनुवाइ गरेन। उनी अनशन बसेकै बेला सरकारले प्रतिनिधिसभामा विधेयक पेस गर्‍यो। गत शुक्रबार प्रतिनिधिसभाले पारित गरेको सो विधेयक अहिले राष्ट्रियसभामा पुगेको छ। सरकारले केसीका माग पूरा भएको दाबी गरेको छ।

चिकित्सक संघका अनुसार देशभरका मुख्य सहरहरु विराटनगर, धरान, जनकपुर, चितवन, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगन्ज, धनगढीलगायतमा चिकित्सक डा. केसीको पक्षमा सडकमा उत्रेर प्रदर्शन गरेका छन्। प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकले पनि केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका छन्। केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनको जीवनरक्षाका लागि देशभर चिकित्सक सडकमा आएको संघले जनाएको छ। चिकित्सकले केसीमो समर्थनमा रिले अनशन पनि जारी राखेका छन्।

संघकै नेतृत्वमा त्रिवि शिक्षण अस्पताल, काठमाडौंमा केसीको पक्षमा सोमबारदेखि सुरु रिले अनशन पनि जारी छ। रिले अनशनमा सोमबार र मंगलबारको तुलनामा बुधबार चिकित्सकहरुको उपस्थिति उल्लेख्य रहेको सहयोगी डा. अभिषेकराज सिंहले बताए। केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेकाले सरकारको ध्यानाकर्षण गराउन चिकित्सक रिले अनशन बस्न र सडकमा उत्रिनुपरेको उनले बताए। केसीले आफूले अघि सारेका माग पूरा नभएसम्म अनशन नतोड्ने र संघन उपचार पनि नलिने अडान राखेका छन्। यस्तो अवस्थामा केसीको स्वास्थ्यमा कुनै पनि बेला संकट आउन सक्ने खतरा रहेको उनका सहयोगी बताउँछन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका आवसीय चिकित्सकले पनि डा. केसीको माग पूरा गराउन र जीवनरक्षाका लागि तत्काल वार्ता थाल्न सरकारलाई दबाब दिन बुधबारदेखि रिले अनशन सुरु गरेका छन्। प्रतिष्ठानअन्तर्गतका चिकित्सकले वीर अस्पतालदेखि वसन्तपुरसम्म -याली निकालेर केसीको पक्षमा ऐक्यबद्धता जाहेर गरे।

सरकारलाई दबाब दिन बिहीबार माइतीघर मण्डलामा बृहत सभा तथा प्रदर्शनी गर्ने जानकारी संघका अध्यक्ष डा. मुक्तिराम क्षेष्ठले दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.