आज प्रदेश ३ मा सार्वजनिक विदा, संघ अर्न्तगतका कार्यालय खुल्‍ने

| 2019 Jan 30 | 07:00 am 1493

काठमाडौं, माघ १६ : सहिद दिवसका अवसरमा माघ १६ गते प्रदेश ३ मा सार्वजनिक विदा घोषणा गरिएकव छ। प्रदेश र स्थानीय तहले विदा घोषणा गरेपनि संघीय सरकारले भने त्यो स्वीकार गरेको छैन।

गृह प्रवक्ता रामकृष्‍ण सुवेदीका अनुसार संघीय सरकार अर्न्तगतका सम्पूर्ण कार्यालय खुल्ने उनले बताएका छन्।

उता प्रदेश सरकारका गृहमन्त्री शालिकराम जमरकट्टेलले भने बिदा दिने निर्णयको बोधार्थ प्रधानमन्त्री कार्यालयलाई पठाइसकिएको बताए । ‘हामीले मन्त्रिपरिषदको निर्णयबारे मुख्यमन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएका छौं । अब, संघ अन्तर्गतका कार्यालय बन्द हुन्छन् हुँदैनन्, त्यो म भन्न सक्दिनँ । तर, प्रदेशअन्तरगतका कार्यालय बुधबार खुल्दैनन्।’

काठमाडौं महानगरले भने प्रदेशले दिएको बिदालाई स्वीकार गरेको छ। मंगलबार बसेको बैठकले आज बुधबार महानगर अन्तरगतका कार्यालय र स्कुल–कलेजमा बिदा दिने निर्णय गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

संविधान र कानूनले नै प्रदेश सरकार तथा स्थानीयले आफूखुशी बिदा दिन पाउने व्यवस्था गरेको छ। यसले बारम्बार केन्द्र र प्रदेशबीच असामञ्जस देखिने गर्छ ।

केहीअघि प्रदेश दुई सरकारले दिएको बिदा केन्द्र सरकार अन्तरगतको कार्यालयले पालना नगर्दा विवाद उत्पन्न भएको थियो । बिदा कार्यान्वयन गराउने क्रममा प्रदेश २ का गृहमन्त्री ज्ञानेन्द्र यादव राष्ट्र बैंकको कार्यालयमा ताला लगाउन पुगेका थिए ।

केन्द्र सरकार, प्रदेश र स्थानीय निकायबीच विदामा एकरुपता नहुँदा एउटै प्रदेशमा कुनै सरकारी कार्यालय खुल्ने र कुनै नखुल्ने स्थिति आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.