चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित

| 2019 Jan 28 | 01:04 pm 1783

काठमाडौं, माघ १४ : प्रतिनिधि सभाको बैठकमा आज सोमबार पनि प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

सोमबार तेस्रो पटक बसेको संसद बैठकमा काँग्रेस सांसदहरुले उठेर विरोध जनाईरहँदा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले संसदको कारबाही अघि बढाउन निर्देशन दिएपछि काँग्रेस सांसदहरु रोष्ट्रममा पुगेर नाराबाजी गरिरहँदा पारित गरेका हुन् ।

आफ्नै सिटमा बसिरहेका काँग्रेस सांसदहरु अध्यक्षले सो निर्देशन दिएसँगै रोष्ट्रममा पुगेर नाराबाजी गर्न सुरु गरेका थिए । अध्यक्ष तिमल्सिनाले सभाका सचिव राजेन्द्र फुयाललाई प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहितको सूचना टेबुल गर्न समय दिएर बैठक आधा घण्टाको लागि स्थगित गरेका थिए ।

आजको तेस्रो बैठकमा बैठकमा समेत विरोध गरेको प्रतिपक्षी दलका सांसदहरुले आफूहरुको माग पूरा नभएसम्म विरोध जारी राख्ने निर्णय गरेपछि प्रतिनिधि सभामा सभामुख कृष्णबहादुर महराले पनि जवर्जस्ती बैठक अघि बढाएका थिए । सोही प्रक्रियाले राष्ट्रि सभाका अध्यक्षले पनि जवर्जस्ती संसदीय प्रक्रिया अघि बढाएका हुन् ।

तेस्रो बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले आफ्नो विचार राखिसकेपछि काँग्रेस सांसदहरुले फेरि उठेर विरोध जनाएका थिए । पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे ।

त्यतिबेलासम्म काँग्रेस सांसदहरुले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका थिए । नाराबाजीकै बीच अध्यक्ष तिमल्सिनाले सबै प्रक्रिया पुर्याएर चिकित्सा शिक्षा विधेयक पारित भएको घोषणा गरी अर्कौ बैठक १७ माघसम्मको लागि स्थगित गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.