ल्होछार मनाउन स्थानीय तहले गर्‍याे बिदाको निर्णय

रिपोर्ट नेपाल | 2019 Jan 27 | 02:00 pm 2146

काभ्रेपलाञ्चोक, माघ १३ :  नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिले सजिएको देश हो । जातजाति अनुसार फरकफरक चाड र संस्कृति मनाउने प्रचलन रहिआएको छ । यसै क्रममा तामाङ समुदायको महान सांस्कृतिक पर्व ड्वाल्हो सोनाम ल्होछारका लागि स्थानीय तहले सार्वजनिक बिदा दिने भएको छ ।

तामाङ समुदायको बाहुल्य रहेका चौँरीदेउराली गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ भने तेमाल, महाभारत र रोशी गाउँपालिकाले तीन दिनका लागि बिदा दिएको छ।

चौँरीदेउराली गाउँपालिका तामाङ समुदायको आदिभूमि रहेकाले पर्व, धर्म, संस्कृति, संरक्षण र सम्बर्धन गर्नु सरकारको दायित्व रहेको जनाउँदै गत बिहीबारको बैठकले यही माघ २२ र २३ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष दीननाथ गौतमले बताए ।

त्यस्तै रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारभित्र रहेर सोनाम ल्होछार मान्नका लागि माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिइएको बताए । उनका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास रहेका छन् ।

सोही जिल्लाको तेमाल गाउँपालिकाले पनि सोनाम ल्होछारका लागि माघ २१ देखि २३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले जानकारी दिएका छन् । महाभारत गाउँपालिकाले गत पुस २५ गते नै बैठक बसी ल्होछारमा तीन दिन बिदा दिने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.