महाराज पध्म शमशेरको पालामा भारतबाट श्री प्रकाशको नेतृत्वमा संविधानविद्हरुको टोली बोलाई मुलुककै पहिलो संविधान लेख्ने तयारी थियो । तर संविधान बनाउने नबनाउने, घोषणा गर्ने नगर्ने विषयमा दरबारमा चरम विवाद र मतभेद थियो ।
सुधारवादी पध्म र कट्टरपन्थी चन्द्र शमशेरका छोराहरुको मनमुटाव उत्कर्षमा थियो । पध्मको सुधारवादी कदमलाई महावीर शमशेर र सुवर्ण शमशेरको साथ थियो । तर मोहन शमशेर, बबर शमशेर, बहादुर शमशेरलगायत कट्टरपन्थी राणाहरु आफ्नो अधिकार कटौती गर्ने पक्षमा थिएनन् । “वैधानीक कानुन लागू भएपछि श्री ३ को बार्षिक तलब तीन लाख तोकिनेछ र तीनलाखे महाराज भएर बस्नुपर्छ भनेर उनीहरु सुधारको आलोचना गर्थे ।”
देशको राजस्व प्रधानमन्त्रीको निजी ढुकुटीसरह हुने त्यो जमानामा बजेट पेश गर्ने, जनतालाई मौलिक हक दिने, विधायिका बनाउने, आमचुनाव गराउने घोषणा पध्म शमशेरले गरेका थिए । कट्टरपन्थी राणाहरुका राजनीतिक सुधार गरे राणाशासन नै रहँदैन भन्ने त्रास थियो ।
त्यसैले उनीहरु महाराज पध्मलाई तर्साएर, धम्क्याएर सत्ताच्युत गर्ने षड्यन्त्रमा थिए । “चन्द्र शमशेरका छोराहरुबाट आफ्नो हत्या हुन सक्ने डर स्वयम् प्रधानमन्त्री पध्मलाई थियो ।” त्यसैले उनी देश छोडेर भारत जाने निर्णयमा पुगे ।
भारतको राजकीय भ्रमणका क्रममा उनले प्रधानमन्त्री जवाहरलाल नेहरुसँग भनेका थिए, “मोहन शमशेरले मलाई मार्छन् ।” पध्म शमशेर एकदमै डरछेरुवा थिए । काठोर दण्ड दिनुपर्यो भने तुरुन्तै राइहाल्थे ।
सत्तामा पुग्नसाथ यिनले भनेका थिए, “म जनतको नोकर हुँ” पध्मसँग कलकत्तामा भेट्दाको क्षणबारे बीपी लेख्छन्, “एक सवा घण्टा कुरा गर्दा चारपाँच चोटि पिसाब गर्न गए । दसपन्ध्र चोटि रोए ।”
श्री ३ पध्म सत्तामा धेरै रहे भने राणाशासन नै जान्छ भन्ने त्रासका कारण मोहन र बबर शमशेर चिन्तित थिए । उनीहरुले महाराज पध्मलाई जनअधिकार दिने निर्णय नगर्न निरन्तर दवाब मात्र दिएका थिएनन्, ज्यान लिने धम्कीसमेत दिइरहेका थिए ।
त्यसैले डरछेरुवा, काँतर महाराजले स्वास्थ्योपचार गराउने बहानामा भारत भ्रमणमा जानुअघि “छोरा वसन्तलाई गोप्य रुपमा बीपीसँग भेट गर्न बनारस पठाए ।”
बनारसका एकदमै धनी माधवराज सण्डको पाहुना भएर बसेका थिए उनी । बाबुमैयाँ नामक बिए पढ्ने एक युवतीलाई उनीकहाँ पठाएर आफूले भेट्न चाहेको सन्देश दिए । वसन्तले आफू बसेको घरमा भेटघाटको कार्यक्रम राख्न उपयुक्त ठानेनन् ।
भोलिपल्ट निसात सिनेमा हलमा फिल्म हेर्न जाने उनको कार्यक्रम तय भइसकेको थियो । वसन्तले भने, “ठीक छ भोलि म कारमा सिनेमा हल आउँछु । तिमि बीपीलाई लिएर त्यहीँ उभिरहनू । म उनलाई चिन्दिनँ । उनी पनि मलाई चिन्दैनन् । मोटरबाट निस्केर ए यिनी त मलाई भेट्न आएकी भनौला अनि बीपीसँग भेटौँला ।”
भोलिपल्ट पूर्वनिर्धारित योजनाअनुसार वसन्त सिनेमा हल पुगे । बाबुमैयाँलाई देख्नसाथ भने, “ए तिमि हिजो मलाई भेट्न आएकी थियौँ नि, फिल्म हेर्न आएको रु” उनले भनिन् “हैन, म त यहाँ त्यसै आएकी ।” त्यही मौकामा बाबुमैयाँले बीपीसँग परिचय गराइन् ।
वसन्तः यहाँ त कुरा गर्न भएन, कहीँ जाऊँ ।
बीपीः गंगाकिनारामा नाउँमा चढेर कुरा गरौं ।
आफूलाई लिएर आउने मानिसलाई वसन्तले भने, “म त सिनेमा हेर्न जान्न । नाउ चढ्न जान्छु । यी काटीले मलाई भन्छिन, नाउ चढ्नलाई ।” वसन्तका मानिस फर्किए । उनीचाहीँ बीपीका साथ दशाश्वमेधघाट गए । बीपीले एउटा नाउ लिएर आए । गंगाजीमा नौकाविहार गर्दै लामो वार्तालाप गरे ।
बीपीः तपाईका पिताजी प्रधानमन्त्री भएकै बेला केही सुधारका कदम चाल्नु उचित हुन्छ । अब पनि सुधार गर्ने तर्फ सोचिएन, अबेर भयो भने राम्रो हुँदैन ।
वसन्तः मेरो बुवा केही गर्न चाहिबक्सन्छ । तर सबै राणाहरुलाई नसिध्याई केही सम्भव छैन । सबैलाई एकैपटक सिध्याउनुपर्छ । मोहन, बबरबाट महाराज आजित होइबक्सन्छ । तयसैले तपाइसँग सल्लाहका लागि मलाई पठाईबक्सेको हो । तपाई पाँच छ वटा ग्रिनेड दिन सक्नुहुन्छ भने म सबैलाई एकै चिहान बनाइदिन्छु ।
बीपीः तपाई त्यो काम कसरी फत्ते गर्न सक्नुहुन्छ ?
वसन्तः हरेक बेलुका कमाण्डर इन चिफ मोहन शमशेरलगाएत सबै प्रधानमन्त्रीको चाकरीमा आउँछन । उनीहरु जम्माभई सकेपछि झ्यालबाट ग्रिनेड फाल्नुपर्छ ।
बीपीः त्यो गर्दा तपाईका पिताजी महाराज पध्म पनि मारिन्छ नि त !
वसन्तः हैन हैन, चाकरीमा आउने सबै जम्मा भएपछि महाराजलाई आउने बेला भयो भनेर जनाउ दिनुपर्छ । तपाईले ग्रिनेड दिन सक्नुभयो भने “हामी महाराज आउनुअघि नै शक्तिशाली ग्रिनेड फालेर सबैलाई एकै चिहान बनाइदिन सक्छौं । म त्यो काम गर्न सक्छु ।”
बीपीः हुन्छ । तपाईले ग्रिनेड पाउनुहुन्छ । तर म केही दिनका लागि दिल्ली जानु, महात्मा गान्धीलाई भेट्न । फर्किएपछि तपाईले पाउनुहुनेछ ।
वसन्तः ठीक छ । मेरी छोरी पनि बिरामी छन् । कलकत्तामा उपचार भइरहेको छ । म पनि फर्किन्छु, त्यहाँबाट । अनि यो काम गरौंला ।
वसन्तसँग भेटपछि भारतीय समाजवादी नेता राममनोहर लोहियाका साथ २८ जनवरी १९४८ मा बिडला हाउसमा बीपीले गान्धीलाई भेटी “राणाविरुद्ध आन्दोलन चलाउने तयारीमा रहेको जानकारी दिंदै उनको समर्थन र सहयोग मागे ।” अंगे्रजको उपनिवेशबाट स्वतन्त्र भएपछिका दिनमा प्रधानमन्त्री जवाहरलाल नेहरु र उपप्रधान तथा गृहमन्त्री बल्लभभाइ पटेलबीच तँ रहने कि म भन्ने तहमा झगडा चुलिएको थियो ।
गान्धीले बीपीलाई भने, “म तिमिलाई कुनै प्रकारको मद्दत गर्न सक्दिँन ।” भारत सरकारले आफ्नो कुरा नसुनेकोमा उनी निराश थिए । हत्या हुनुभन्दा दुई दिनअघि गान्धीसँग आफूले गरेको वार्तालापबारे बीपी लेख्छन्, “म तपाईसँग कुनै भौतिक मद्दत माग्न आएको होइन । हामीलाई त तपाईको सहानुभूति र नैतिक समर्थन चाहिएको छ । तानशाही राणाविरुद्धको लडाइँका निम्ति ।”
गान्धीले भने, “अन्याय, अत्याचार र दमनका खिलाफमा जहाँ आन्दोलन हुन्छ, संघर्ष हुन्छ, त्यहाँ मेरो समर्थन हुन्छ । तर त्यसभन्दा बढ्ता म केही गर्न सक्दिँन ।”
दिल्लीमै रहँदा बीपीले वसन्त शमशेरसँगको लोहियालाई सुनाएर सहयोगका लागि आग्रह गरे । लोहियाले कलकत्तामा आफ्ना सहयोगीलाई भनेर बम उपलब्ध गराउने वचन दिएपछि त्यही रात उनी रेल रेलबाट कलकत्तातिर लागे ।
३० जनवरी १९४८ का दिन लोहियाका मानिसलाई भेट्ने र ग्रिनेड दिने तय भएको थियो । त्यहीबामोजिम सेतो रुमालले छोपेका छ ओटा ह्यान्डग्रिनेड उनीले बीपीको हालमा राखिदिए । बेलुकाको छ बजेको थियो ।
कलकत्ताको पार्कस्ट्रिटमा ह्यान्डग्रिनेड लिएर बीपी उभिरहेका थिए । त्यहीँ वसन्त शमशेरलाई बम हस्तन्तरण गर्ने भनेर खबर भइसकेको थियो । बीपी उनकै प्रतिक्षामा थिए । छेउको पान दुकानमा घन्किएको रेडियोको आवाजले उनको मन खलबलाइदियो ।
अचानक “गान्धीको हत्याको ब्रेकिङ न्युज सुनेपछि उनी झसंग भए । २००४ साल माघ १७ गते शुक्रबार घटना थियो यो । सबथोक भताभुंग भए जस्तो महसुसस भयो बीपीलाई । बेलुकीको प्रार्थनामा जाने क्रममा गान्धीको हत्या भएको थियो । “हत्या हुनुभन्दा केही समयअघि मात्र गृहमन्त्री बल्लभभाइ पटेलले उनलाई भेटेका थिए । त्यहाँबाट आफ्नो निवास पुग्न नपाउँदै बाटैमा उनले हत्याको खबर पाएका थिए ।”
पहिलो पटक काठमाडौंमा राणाको थुनामा रहेको बेला बीपी गान्धीकै दबाबमा रिहा भएका थिए । बीपीले गान्धीलाई सम्झिए । उनले दबाब नदिएको भए सायद त्यहीँ मरिन्थे कि १ वसन्त शमशेरलाई ग्रिनेड दिएर निवासमा फर्किएपछि बीपीलाई लाग्यो–गान्धीको विचारविपरीत राणालाई सिध्याउन छ ओटा ग्रिनेड दिएर पठाएँ मैले । बीपीकै भनाइमा, “त्यो रात उनले रोएरै बिताए ।”वसन्तले ग्रिनेड काठमाडौं पुर्याए । तर राणालाई एकै चिहान बनाउने योजना भने कार्यान्वयन भएन ।(जगत नेपालद्वारा लिखित)