काठमाडौं, माघ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सदन र सडकमा दुवैमा आन्दोलन गर्ने बताएका छन् । कांग्रेसको विरोधकाबीच पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गरेपछि बाहिरिने क्रममा सभापति देउवाले कांग्रेस आन्दोलनमा जाने बताएका हुन् ।
देउवाले सरकार अधिनायकवादी भएको बताए । साथै सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको उनले बताए । ‘कम्युनिष्ट सरकारले कांग्रेस नेताहरुको नामै मेट्न खोज्यो, हाम्रा दुई नेताको नामै सुन्न चाहेन’, देउवाले भने, ‘हाम्रा नेताको नाममा खुलेका अस्पताल संघीय सरकार मातहत नल्याउने निर्णय हामीलाई कदापि स्वीकार्य छैन ।’
सभापति देउवाले कम्युनिष्ट पार्टीको कार्यविरुद्ध कांग्रेसले निरन्तर विरोध कार्यक्रम राख्ने पनि जानकारी दिए । देउवाले भने, ‘हाम्रो विरोध निरन्तर जारी रहन्छ । सदन र सडक दुवै ठाउँमा कांग्रेसले विरोध चर्काउँछ’ ।