अमेरिकी हस्तक्षेपको विरोध गर्दै प्रचण्डको कडा विज्ञप्ति

| 2019 Jan 25 | 03:12 pm 1482

काठमाडौं, माघ ११ : भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आपत्ति जनाएका छन् । शुक्रबार अंग्रेजीमा विज्ञप्ति जारी गर्दै उनले आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको उल्लेख गरेका छन् ।

अंग्रेजीमा जारी गरिएको विज्ञप्तिमा उनले आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको उल्लेख गरेका छन् । ‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरुले गरेको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने तथा प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौति दिने काम गरेको आरोप प्रचण्डको छ ।

जनताको मतबाट प्रजातान्त्रिक विधिको सदुपयोग गर्दै निर्वाचित भएका त्यहाँका राष्ट्रपति निकोल मादुरोलाई मान्यता दिएर अघि बढ्न पनि प्रचण्डले अमेरिका र उसका सहयोगी राष्ट्रलाई आग्रह गरेका छन् ।

प्रचण्डले जनताबाट निर्वाचित मादुरोविरुद्ध षड्यन्त्र गरेर भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिकारुपमा जुआन गुआइडोको घोषणालाई अमेरिकाले मान्यता दिनु त्यहाँका जनतामाथिको गम्भीर षड्यन्त्र भनेका छन् । ‘अमेरिकासहितका मुलुकबाट जननिर्वाचित राष्ट्रपतिविरुद्ध गम्भीर षडयन्त्र भएको देखिन्छ’, उनले भनेका छन्, ‘अमेरिकाको यो प्रयास अरु देशको मामिलामा हस्तक्षेप मात्रै नभएर ‘कू’ गर्ने एउटा प्रयास पनि हो । यसलाई कुनै पनि सार्वभौम मुलुक र हामीले पनि स्वीकार्न सकिँदैन ।’

अध्यक्ष प्रचण्डले वामपन्थीहरुले पकड बनाएपछि अमेरिकाले भेनेजुयलामा एक दशकदेखि निरन्तर राजनीतिक हस्क्षेप गरेकोमा पनि चिन्ता जनाएका छन् । ‘अमेरिकाले भेनेजुयलामा एक दशकदेखि आर्थिक प्रतिबन्ध लगाउँदै सैनिक आक्रमणको पनि डर देखाएर हिंसा र रक्तपात मच्चाउन खोजेको छ’, उनले भनेका छन्, ‘अमेरिकाको यस्तो कार्यले संयुक्त राष्ट्रसंघको चार्टर र शान्तिपूर्ण सह-अस्तित्वको सिद्दान्तलाई पनि गम्भी चुनौती दिएको छ।’
प्रचण्डले अन्य राष्ट्रहरुमा अनावश्यक हस्तक्षेप नगरेर ती मुलुको सार्वभौमसत्ता, शान्तिपूर्ण सह-अस्तित्वको नीतिको सम्मान गर्न पनि अमेरिकालाई अपिल गरेका छन् ।

मादुरो सन् २०१८ मा भेनेजुयलाको राष्ट्रपति पदमा पुन:विजयी भएका थिए । दोस्रो कार्यकालका लागि भर्खरै सपथ लिएका उनीमाथि अर्थतन्त्र कम्जोर बनाएको र मानवअधिकार विरोधीको बिल्ला भिराउँदै अमेरिकार र उसका सहयोगी मुलुकले आलोचना गरिरहेका थिए ।

 

चण्डले जारी गरेको विज्ञप्ति 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.