काठमाडौं, माघ ९ : दुई वर्षे कार्यकाल अवधिभर पानी बाराबारको अवस्थामा देखिएका नेविसंघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले कार्यसमिति ‘कामचलाउ’ को अवस्थामा आइपुग्दा एउटै कार्यक्रममा हातेमालो गरिरहेको देखिएका छन् । संस्थापन पक्षले मनोमानी ढंगले संगठन सञ्चालन गरेको आरोप लगाउँदै २०७४ पुस १६ बाट समानान्तर गतिवधि चलाउँदै आएका महामन्त्री बुधबार नयाँ बानेश्वरमा अध्यक्ष महरसँगै हातेमालो गरिरहेको देखिएका हुन् ।
सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेरै चिकित्सा शिक्षा विधेयक, २०७५ पास गर्ने रणनीति अपनाएपछि नेविसंघका अध्यक्ष महर र महामन्त्री काफ्ले लामो समयपछि पहिलो पटक एक साथ आन्दोलनको मोर्चामा देखिएका हुन् ।
यसअघि नेता कृष्णप्रसाद सिटौलाले अगुवाई गरेको कांग्रेसको ‘तेस्रो धार’ निकट रहेका महामन्त्री काफ्लेले सार्वजनिक रुपमै घोषणा गरेर संस्थापन पक्षका विरुद्ध समानान्तर गतिविधि गर्दै आएका थिए ।
‘‘२०७४ पुष १६ मा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिनबाट समानान्तर गतिविधिमा लागेका महामन्त्री काफ्ले र अध्यक्ष महर आज (बुधबार) पहिलो पटक सार्वजनिक रुपमा एक साथ देखिनुभएको हो,’’ काफ्ले निकट एक विद्यार्थी नेताले बाह्रखरीसँग भने, ‘‘उहाँहरु १२ औं महाधिवेशनका ईस्युमा एक ठाउँमा उभिनुभएको थियो । तर यसरी सार्वजनिक कार्यक्रममा भने पहिलो पटक नै हो एक साथ सहभागी हुनुभएको ।’’
गुटबन्दीमा रुमलिँदै आएको कांग्रेसको भ्रातृ संगठन नेविसंघमा पहिल्लो समय ‘इस्यु’ गत गुट देखिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि बनेका ‘इस्यु’को गुटले फरक–फरक नेता निकट देखिँदै आएका विद्यार्थी नेताहरुलाई एक ठाउँमा उभ्याइदिएको छ ।
पार्टीमा देखिएका संस्थापन, पौडेल र सिटौला समूहझैं नेविसंघमा पनि देखिँदै आएका तीन धारका नेताहरु महाधिवेशनको मुद्दामा आफ्नो समूह छाडेर स्वार्थ मिल्ने नेताहरुसँग नजिक देखिएका छन् । १२ औं महाधिवेशन सम्पन्न गर्ने कार्यभार सुम्पेर दोस्रो पटक समयावधि थपिएपछि फरक–फरक धारमा विभक्त नेविसंघका नेताहरु स्वार्थपूर्तिका लागि एकाकारझैं देखिएका हुन् ।