काठमाडौं, माघ ९ : अवैधानीक रुपमा बोकेको पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटल लक प्रालिबाट काभ्रे तेमाल गाउँपालिका–२ का ३० वर्षीय अविलास तामाङलाई पेस्तोल १ थान, त्यस्को गोली ६ राउण्ड, नगद २२ हजार रुपैयाँ, मोबाइल २ थान समेतका सामान सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा सुन लुट्ने योजनाकासाथ अपरिचित व्यक्तिहरु हतियार सहित बसेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कोठा नम्बर १०४ मा पेस्तोल सहित बसेका अविलासलाई प्रहरीले आत्मरक्षाको लागि फायर गरी पक्राउ गरेको हो ।
बायाँ खुट्टाको पिडौलामा गोली लागेर घाइते भएका अविलासको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।