काठमाडौं, माघ ९ : ‘स्वर किन्नरी’ उपनामले चर्चित गायिका तारादेवीको आज बुधबार १३औँ स्मृति दिवस मनाइँदै छ। तारादेवी स्मृति फाउन्डेसले बुधबार राष्ट्रिय सभागृहमा उनको सम्झनामा सांगितिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पुरानासँगै नयाँ पुस्ताका गायक–गायिकाले उनका गीत गाउने भएका छन्।
तारादेवीको योगदान नयाँ पुस्तामाझ विस्मृत हुँदै गएको देखेपछि लेखक प्रकाश सायमीले उनको नाममा फाउन्डेसन स्थापना गरेका हुन्। ०७२ मा स्थापना भएको प्रतिष्ठानले चौथो पटक स्मृति कार्यक्रम गरेको हो।
कार्यक्रममा ज्ञानु राणा, मीरा राणा र संगीता शाक्य, गीता पाण्डेलगायतले तारादेवीद्वारा गाइएका गीत गाउनेछन्। काठमाडौं इन्द्रचोकमा २००२ सालमा जन्मिएकी तारादेवीले बाल गायिकाको रुपमा रेडियो नेपालमा गाउन सुरु गरेको प्रकाश सायमी बताउँछन्। २०१२ सालमा रेडियो नेपालमा उनको पहिलो गीत रेकर्ड भएको थियो।
भैरवबहादुर थापाको संगीतमा ‘तिमी र हामी भेटौंला’ र ‘अब हजुर नजानुस् लाहुर’ कोलकाताको हिन्दूस्तान रेकर्डमा रेकर्ड भएका थिए। त्यसयता तारादेवीले करिब चार हजार गीत रेकर्ड गरेको सायमीले जानकारी गराए। उनका ‘शुभकामना’, ‘उकाली ओरालीहरुमा’, ‘काली पारे’, ‘फूलको थुंगा’, ‘हिमालकी छोरी हुँ म’ अत्यधिक चर्चित गीत मानिन्छन्।
संगीतकार नातीकाजीको पहिलो रोजाइकी गायिका थिइन् तारादेवी। सायमीका अनुसार राम्रो ट्युन भयो कि नातीकाजी तारादेवीलाई सम्झन्थे। ‘दुवैको जुगलबन्दीमा नेपाली संगीतले कालजयी गीत पाएको छ। तर, अरु संगीतकार पनि विशेष गीतका लागि तारादेवीलाई नै सम्झन्थे,’ सायमीले भने।
‘मनको बाँध’ शीर्षकको फिल्म गीत रेकर्ड गर्ने सिलसिलामा नातीकाजी र तारादेवीबीच मनमुटाव भएको थियो। यसपछि करिब तीन वर्ष नातीकाजी र तारादेवीबीच बोलचाल भएको थिएन। त्यो समयमा भने केही गीतमा तारादेवी स्वयंले आफ्ना केही गीतको संगीत गरेकी थिइन्। यस्तै, एउटा गीतले रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो।
नातीकाजी मात्र होइन, एक समय तारादेवी र नारायण गोपालबीच पनि बोलचाल नभएको किस्ता नेपाली संगीतमा चल्ने गरेको छ। तर, यही समयमा दुवैको आवाजमा नेपाली संगीतका लागि कालजयी गीत निस्किएको सायमी बताउँछन्।
‘०३३ साल तिरको कुरा हो। अरुणा लामा बिरामी हुनुहुन्थ्यो र उहाँको उपचारका लागि आर्थिक सहयोग जुटाउन अरुणा लामा साँझको आयोजना हुन लागेको थियो। केही गायकगायिकाले बिना पैसा नगाउने भनेको सुनेपछि नारायण गोपालले सबैका अगाडि पैसाका लोभी भनेर गाली गर्नुभएछ। नारायणदाइले उहाँलाई नै भनेका त थिएनन् तर तारादिदीले आफैँलाई भनेको भन्ठानेर चित्त दुखाउनुभयो। लामो समयसम्म बोलचाल भएन,’ सायमीले भने, ‘तर, यही समयमा दुवैले माइकमा एकअर्काको अनुहार नहेरी ए कान्छा ठट्टैमा मालती मंगले, सिन्दुर, मुनामदन आदिमा स्वर दिनुभयो र तीनै गीत कालजयी बने।’