विकास, सुशासन र शान्ति सुरक्षामा सरकार फेल भएकाे वरिष्ठ नेता पौडेलकाे दाबी

रिपोर्ट नेपाल | 2019 Jan 22 | 04:40 pm 1581

बुटवल, माघ ८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका न्यूनतम काम विकास, सुशासन र शान्ति सुरक्षा गरी तीन वटै काममा सरकार  फेल भएकाे बताएका छन् ।

प्रजातान्त्रिक विचार समाज रुपन्देहीले मङ्गलवार बुटवलमा आयोजना गरेको विचार गोष्ठी तथा विचार स्मारिका विमोचन कार्यक्रममा बोल्दै नेता पौडेलले भने, ‘सरकारका तीन काम हुन्छन्, विकास, सुशासन र शान्ति सुरक्षा कायम गर्ने, यी तीनवटै कुरामा सरकार फेल भएको छ ।’

पौडेलले वर्तमान सरकारमा सरकारका गुण नै नरहेको दाबी समेत गरे । सरकारका न्यूनतम जिम्मेवारी पुरा नगरेकाले सरकार अहिले नैतिकताको सट्टा कृत्रिम तरिकाले टिकेको टिप्पणी गरे ।

नेता पौडेलले अब काँग्रेसले वैचारिक बहस गरेर कम्युनिस्टलाई नंग्याउन लाग्नुपर्ने बताए । त्यसका लागि कांग्रेसको समाजवाद र लोकतन्त्रको बारेमा विचारबाटै बहसको द्वन्द्व गर्नुपर्ने उनको भनाइ छ ।

पौडेलले संवैधानिक अंगहरुलाई कम्युनिस्टको भर्तीकेन्द्र बनाएको आरोप लगाएका छन् । उनले प्रमुख प्रतिपक्षी दलको नेताविनै संवैधानिक परिषदको बैठक बोलाएर आफ्ना मान्छेमात्र नियुक्त गरिएको आरोप लगाए ।

केही दिनअघि बसेको संवैधानिक परिषदले प्राकृतिक स्रोत तथा वित्त आयोग, थारु आयोग, मुस्लिम आयोग र समावेशी आयोगको अध्यक्ष नियुक्त गरेको थियो । विपक्षी दलको नेता परिषदको सदस्य हुने व्यवस्था भए पनि कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित बैठकले उक्त निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.