काठमाडौं, माघ ८ : सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात बनाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर बस्ने काभ्रे घर भएका विपुन श्रेष्ठ रहेका छन् ।
तारकेश्वर–११ मनमैजुमा रहेको उग्रचण्डी साईवरमा नक्कली कागजात बनाउने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त साईबर जाँच गर्दा नक्कली कागजात बनाएको अवस्थामा उनलाई पक्राउ गरेको छ ।
साथै साईबरबाट नक्कली सर्टिफिकेट लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी प्रिन्टर, पेनड्राईभ र तयारी अवस्थामा रहेको नक्कली कागजातहरु समेत प्रहरीले बरामद गरेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।