कालो धन छानबिन गर्न राप्रपा अध्यक्ष कमल थापाको आग्रह

रिपोर्ट नेपाल | 2019 Jan 21 | 06:30 pm 1445

हेटौडा, माघ  ७ :  राप्रपाका अध्यक्ष कमल थापाले गैरकानुनी रुपमा विदेशी बैंकहरुमा लुकाइएको कालोधनको छानबिन गर्न आग्रह गरेका छन् । हेटौंडामा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सञ्चारमाध्यममा आएको कुराहरूलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए ।

कालो धन विदेशमा राख्ने र फर्जी कम्पनी खोली सेतो बनाएर भित्र्याउने आशंका भएका सबैको बैङ्क खाता रोक्नुपर्ने थापाले माग गरे । उनले सरकारले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै अख्तियारले पनि ध्यान दिनुपर्ने बताए ।

थापाले निर्मला पन्तको हत्याकाण्डमा सरकारको कार्यक्षमता र विश्वसनीयता प्रति प्रश्न उठेको जिकिर गरे । हेटौंडालाई प्रदेशको राजधानी बनाउने कुरामा सबै राजनीतिक दल सहमत हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

देशव्यापी रूपमा सञ्चालन भएको घरदैलो अभियानमा गृह जिल्ला मकवानपुरबाट नेता थापाले सनातन धर्ममाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको बताए । उनले भने,‘ लोभ, लालच र भ्रम सिर्जना गरेर लाखौँमा धर्म परिर्वतन भइरहेको छ ।’

‘हिन्दु, बौद्ध र किराँत धर्मको संरक्षणको लागि धार्मिक समानता, स्वतन्त्रता नेपाललाई हिन्दुराष्ट्रको माग राप्रपाले गर्दै आएको छ’ उनले भने, पार्टीले आगामी फागुन ७ गतेबाट जनसंघर्ष गर्ने निर्णयको तयारी स्वरूप अहिलेको घरदैलो र जनजागरण अभियान सञ्चालन गरेको हो ।’

बाजागाजा सहित सुरु भएको घरदैलो कार्यक्रम हेटौंडाको पुष्पलाल पार्कबाट सुरु भई शितलमहल चोक हुँदै बुद्ध चोक सम्म पुगेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.