यसरी बन्दैछ पहिलो चरणमा दुई स्थानमा आकाशे पुल

रिपोर्ट नेपाल | 2019 Jan 21 | 12:42 pm 3008

काठमाडौँ, माघ ७ : चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिएको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको योजना अनुसार चालु आर्थिक वर्षमा आठ स्थानमा पुल बनाउने रहे पनि तत्काल यी दुई स्थानमा मात्रै पुन निर्माणको तयारीमा कामपा लागेको छ । आगामी दिनमा निर्माण गरिने सबै पुल आवश्यकताअनुरूप एक स्थानबाट अन्यत्र सहजै स्थानान्तरण गर्न सकिने किसिमको हुनेछ ।

उच्च जनघनत्वका कारण दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा काठमाडौं महानगरपालिकाले ती स्थानमा नयाँ प्रविधिका आकाशे पुल निर्माण गर्न लागेको हो ।

काठमाडौंका विभिन्न स्थान टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने कामपाको योजना बनाएको छ । जुनजुन स्थानमा सवारी साधनको अत्यधिक चाप हुन्छ त्यस क्षेत्रमा यस्ता किसिमका पुल बनाउन लागेको हो । पुलको अभावमा पैदलयात्रुहरुले बाटो काट्न समस्या भोग्दै आएको छ । साथै पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको हुने गरेको छ । अब निर्माण गरिने पुलमा विज्ञापन राख्न नपाइने कामपाले उल्लेख गरेको छ ।

काठमाडौं भित्र सुन्धारा, नयाँ सडक, वीरअस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालु छन् । रत्नपार्कमा एउटा सव–वे पनि छ ।

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको छ । वीरअस्पताल अगाडिको पुल अत्यन्त जीर्ण छ ।

चालू आर्थिक वर्ष २०७५–७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको कामपाले बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षमा चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.