मुआब्जा माग्दै जिल्ला बन्द

रिपोर्ट नेपाल | 2019 Jan 20 | 10:00 am 2165

बेत्रावती, माघ ६ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन् ।

आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले सङ्घर्षको कार्यक्रमअन्तर्गत जिल्ला बन्द गराएका हुन् ।

मुआब्जापीडित सङ्घर्ष समितिको आयोजनामा भएको बन्दले नुवाकोट र रसुवामा सञ्चालित छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प हुँदा यात्रुले सास्ती पाएका छन् । बन्दले बजार क्षेत्र, शैक्षिक संस्था, उद्योग तथा कलकारखानासमेत प्रभावित भएका छन् । बन्दकर्ता बिहानैदेखि सडकमा शान्तिपूर्ण रूपमा विरोध जनाइरहेका छन् ।

चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत बन्द आह्वान गरेको र मागको सुनुवाइ नभए थप सङ्घर्षका कार्यक्रम ल्याउन आफूहरु बाध्य हुने समितिका संयोजक लीलानाथ न्यौपानेले बताए।

त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङल्यामु राजमार्ग क्षेत्रको दायाँबायाँ जग्गाको सीमा निर्धारण विसं २०३४ मा सडक विस्तारको क्रममा सडकको पहुँचमा आइसकेको भनेर आयोजनाले मुआब्जा दिन नमल्निे योजना प्रमुख सुवोधकुमार देवकोटाले बताउनुभयो । उहाँका अनुसार कानून अभावमा पीपलटारदेखि ढुङ्गेसम्मको जग्गाको मुआब्जा दिन नसक्ने अवस्था छ ।

पीपलटार–ढङ्गे सडकखण्ड नुवाकोटको सदरमुकामसहित मुख्य–मुख्य बजार क्षेत्रमा पर्दछ । ‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्–स्याफ्रुबेँसी–रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने सडक निर्माणको काम भइरहेको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ । उक्त सडक ८२ किमी दूरीको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.