रनवेमा खेल, टर्मिनलमा शौच

| 2019 Jan 20 | 07:41 am 2378

काठमाडौं, माघ ६: देशभरका ४४ आन्तरिक विमानस्थलमध्ये १७ वटामा मात्र नियमित उडान भइरहेको छ। सातवटामा आंशिक उडान हुन्छ भने बाँकी २० पूर्ण रूपमा बन्द छन्। सरकारी स्वामित्वको वायुसेवा निगमले दुर्गममा फाट्टफुट्ट उडान गर्दै आएको छ । फाइदा नहुने जिल्लामा निजी वायुसेवा कम्पनी सेवा दिन मान्दैनन्।

कर्णाली प्रदेशमा ९ विमानस्थल छन्। तिनमा सुर्खेतबाट मात्र दैनिक करिब दुई दर्जन उडान हुन्छन्। तर पूर्वाधार अभाव र व्यवस्थापन कमजोरीले विमानस्थलबाट भरपर्दो सेवा प्रवाह भइरहेको छैन।

कुनै बेला सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका ७ वटै विमानस्थल सञ्चालनमा थिए। अहिले बाजुराको कोल्टी र अछामको साँफेबगरबाहेक सबै बन्द छन्। प्रदेश १ र ४ का पहाडी र हिमाली क्षेत्रका विमानस्थलको उस्तै दुरवस्था भएको खबर आजको कान्तिपुर दैनिकमा छ।

परीक्षण उडान भइसकेको सुनथराली विमानस्थलको अवस्था जहाँको तहीँ छ। टर्मिनल टावर, खानेपानी, बिजुली, सुरक्षा र धावनमार्ग सुधारको काम नहुँदा उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै यो विमानस्थल यात्रु नपाएर नचल्ने हो कि भन्ने धेरैको आशंका छ। यसलाई धार्मिक पर्यटकीय विमानस्थलका रूपमा विकास गर्नुपर्ने स्थानीय बताउँछन्।

‘बडिमालिका, त्रिवेणी, रामारोशन र योगी नरहरिनाथको जन्मस्थान लालु पुग्न यो एयरपोर्ट फलदायी हुन सक्छ,’ कालिकोट जिल्ला बारका अध्यक्ष हिक्मतबहादुर विष्ट भन्छन्, ‘जसरी पनि यसलाई सञ्चालन गर्नुपर्छ।’ केबुलकारको माध्यमबाट मान्म–कोटबाडा जोडेर यो विमानस्थललाई व्यस्त बनाउन सकिने उनले बताए।

विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठ केही पूर्वाधार बन्न बाँकी रहेकाले नियमित उडान गर्न नसकिएको बताउँछन्। ६ सय ९० मिटर लामो र ६० मिटर चौडा विमानस्थलमा १ करोड ६३ लाख रुपैयाँमा पर्खालसहित सुरक्षा भवन निर्माण भइरहेको उनले बताए। यसका साथै विमानस्थल कालोपत्रेको लागि १५ करोड रुपैयाँमा टेन्डर स्वीकृत भई कामसमेत सुरु भइसकेको उनको भनाइ छ।

परीक्षण उडानका बेला आफ्नो तीन दशक पुरानो सपना पूरा भएको भन्दै लालु, मालकोट, रुप्सा, कुमालगाउँ, कोटबाडा, रकुसहित आसपासका करिब पाँच हजार मान्छे जहाज हेर्न आएका थिए। उनीहरूको आशा थियो– जहाज सुरु भएपछि साह्रोगाह्रो पर्दा, बिरामी हुँदा ऋण जोहो गरेरै भए पनि सुर्खेत, नेपालगन्ज जान पाइने भो।’ तीमध्येका पदमबहादुर बुढा भन्छन्, ‘फेरि जहाज नदेखेरै जुनी जाने भयो।’ २०४८ मा सुनथराली विमानस्थल निर्माणको काम सुरु गरेको थियो। २०५२ मा सुरु भएको सशस्त्र द्वन्द्वले गतिरोध भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.