भारत र चीनबाट रेलले ल्याउने सामानको भण्डारण कक्षको रूपमा बन्दरगाह : प्रधानमन्त्री ओली

| 2019 Jan 17 | 04:22 pm 1787

काठमाडौं, माघ ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण (भारत) र उत्तर (चीन)बाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रूपमा बन्दरगाह उपयोग हुने बताएका छन् । बिहीबार किर्तिपुर नगरपालिका चोभारमा सुख्खा बन्दरगाह शिलान्यास गर्दै प्रधानमन्त्री ओली बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकारको एक वर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको उल्लेख गर्दै अब देश विकासको तीव्र गतिमा अघि बढ्ने बताए । उनले भने,‘संविधान थियो कानुन थिएन । त्यसले गर्दा एकवर्ष हामीले कानुन बनाउने काममा बितायौँ । अब हामीले काम गर्ने वातावरण बनाएका छौँ । अब देश तीव्र गतिमा अघि बढ्छ । ’ बन्दरगाह शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले अब काठमाडौ‌ंका लागि उपभोग्य वस्तुको अभाव नहुने समेत बताए ।

चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

विदेशबाट आएका र स्वदेशबाट विदेश पठाइने सामग्री भण्डार गर्नका लागि बन्दरगाह बनाइएको हो । बिश्व बैंकको करीब रु दुई अर्ब लगानीमा करीब डेढ वर्षमा उक्त बन्दरगाह बनाइने भएको छ । बन्दरगाह करीब छ हजार वर्गमिटर क्षेत्रफलमा रहने छ ।

बन्दरगाहको शिलनयासको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि उनीहरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौको कीर्तिपुर नगरपालिका ६ स्थित साबिकको हिमाल सिमेन्ट कारखानमा बन्न लागेको सुक्खा बन्दरगाहको स्थानीयले विरोध गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.