‘टुटल’ र ‘पठाओ’ लाई प्रतिबन्ध, तीन हजारको रोजगार गुम्यो

| 2019 Jan 17 | 07:32 am 1792

काठमाडौं, माघ ३ : यातायात व्यवस्था विभागले मोबाइल एप्लिकेसन (एप्स) प्रयोग गरी उपत्यकाभित्र भाडामा सञ्चालित निजी प्रयोजनका दुईपांग्रे सवारीसाधन (मोटरसाइकल–स्कुटर) माथि प्रतिबन्ध लगाएको छ।

कानुनी अड्चन देखाउँदै विभागले निजी प्रयोजन (रातो नम्बरप्लेट)मा दर्ता भएका सवारीसाधनलाई यात्रु बोक्न रोक लगाएको हो। तर, सोही प्रयोजनमा दर्ता भएका ल्यान्डक्रुजर, स्कारपिओ, टाटासुमो, मारुती, अल्ट्रो, स्यान्ट्रोजस्ता चारपांग्रे सवारीसाधन भने मुलुकभर नै निर्वाध चलिरहेका छन्।

विभागका अनुसार यस्ता सवारीसाधन उपत्यकाभित्र मात्रै हजारको संख्यामा सञ्चालित छन्। उपत्यकाबाहिर भने पाँच हजारभन्दा धेरै चल्ने गरेका छन्। तर, तिनलाई मोटरसाइकल र स्कुटरलाई जस्तै नियन्त्रण गर्ने सोच विभागको छैन।

विभागका महानिर्देशक लावण्यकुमार ढकालले मोटरसाइकल र स्कुटरलाई जस्तै भाडामा प्रयोग हुने निजी प्रयोजनका चारपांग्रे सवारीसाधन तत्काल नियन्त्रण गर्ने सोच नभएको बताए। उनले भने, ‘रातो नम्बरप्लेटमा दर्ता भएका चारपांग्रे सवारीसाधन पनि भाडामा प्रयोग भइरहेका छन्।

कानुनी रूपमा यो अवैधानिक हो। तर, यसलाई नियन्त्रण गर्न तत्काल केही गरिएको छैन। किनकि यस सम्बन्धमा उजुरी परेको छैन। मोटरसाइकल र स्कुटरको हकमा ट्राफिक प्रहरीमार्फत उजुरी आयो। कानुनी पाटो हेर्दा अवैधानिक देखियो। त्यसो हुँदा रोक्ने निर्देशन भयो।’

उपत्यकाभित्र ‘टुटुल’ र ‘पठाओ’ एप्स प्रयोग गरी करिब १५ हजार मोटरसाइकल र स्कुटर भाडामा सञ्चालित छन्। टुटलले यो सेवा दुई वर्षअघिदेखि सञ्चालन गरिरहेको छ। यही सेवा सञ्चालनका लागि मात्रै टुटलले करोड रुपैयाँभन्दा धेरै लगानी गरिसकेको छ। जावलाखेलमा कार्यालय रहेको टुटलमा मात्रै ३० भन्दा धेरैले प्रत्यक्ष रोजगार पाइरहेका छन्। टुटलका कार्यकारी अधिकृत शिक्षित भट्टका अनुसार टुटलसँग मात्रै करिब १० हजार ग्राहक आबद्ध छन्। यसबाट दैनिक ३ हजारभन्दा धेरै यात्रुले प्रत्यक्ष सेवा लिइरहेका छन्।

यस प्रयोजनमा मात्रै ९ हजार मोटरसाइकल र स्कुटर सञ्चालित भइरहेका छन्। तर, प्रहरीले कानुन नभएको भन्दै पक्राउ गर्न थालेपछि व्यवसायीसहित यात्रुले पाउँदै आएको सेवा संकटमा परेको टुटलका कार्यकारी अधिकृत भट्टले बताए।

उनले भने, ‘दुई वर्षदेखि एप्समार्फत हामीले सेवा दिइरहेका थियौँ। यसबाट विद्यार्थीदेखि सामान्यभन्दा सामान्य व्यक्तिले रोजगार पाइरहेका थिए। यात्रुले सहज रूपमा यात्रा गर्न पाइरहेका थिए। यसबाट प्रत्यक्ष असर त उनीहरूलाई प-यो। अर्को यसबाट हाम्रो व्यवसायलाई असर त पर्ने नै भयो।’ त्यस्तै ‘पठाओ’ एप्सको पनि ‘सब्सक्राइबर’ मात्रै १० हजार छन्।

यो एप्स प्रयोग गरी ६ हजार मोटरसाइकल र स्कुटर भाडामा प्रयोग भइरहेका छन्। ‘पठाओ’ एप्सबाट भने यस्ता मोटरसाइकल सञ्चालन भएको ६ महिना मात्रै भएको छ। यही प्रयोजनका लागि यसले करिब २० लाख लगानीमा दरबारमार्गमा भव्य कार्यालय खोलेको छ। पठाओका सञ्चालक वैभव चन्दले भने, ‘कानुनी अड्चन देखाउँदै भाडामा चल्ने मोटरसाइकल पक्राउ गरिएको छ। यसले यात्रुलाई असर गरेको छ। रोजगारीमा पनि यसले प्रत्यक्ष प्रभाव पारेको छ। यसलाई सरकारले पुनर्विचार गर्न आवश्यक देखिन्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.