- भुवन भट्ट
नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल विद्यार्थी सङ्घ अटल गरिमा, आदर्श र सिद्धान्तसहित गर्भिलाे इतिहास बाेकेकाे विद्यार्थी सङ्गठन आज कठिन परिस्थितिबाट गुज्रिनु समग्र लोकतन्त्र, लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक गणतन्त्र राष्ट्र नेपालका लागि दुर्भाग्यको कुरा हो । पञ्चायतकालमा पार्टीका नेताहरू प्रतिबन्धित हुँदा र प्रवास जीवन बिताउनु परेको बाध्यकारी अवस्थामा सडकमा जनताका स्वतन्त्रताका निम्ति, प्रजातान्त्रिक प्रणाली स्थापित गराउनका निम्ति बिकुल फुक्ने नेबिसङ्घ आज गुटगत र व्यक्तिगत स्वार्थमा रुमलिएको छ ।
कुनैबेला पार्टिकाे सङ्गठित शक्तिको स्रोत रूपमा रहेको नेबिसङ्घ प्रतिपक्ष शक्तिका रूपमा स्थापित थियो। सत्ताको समान्तबाद विरुद्धमा आन्दाेलन गर्ने, राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दामा अडान राख्ने र जनमत निर्माण गर्ने गतिविधिमा अग्रमाेर्चामा रहने गर्दथ्याे । तर आज विडम्बना सामाजिक अन्यायका विरुद्ध, कम्युनिस्ट अधिनायकवाद, सर्बसत्ताबादका विरुद्ध, भ्रष्टाचार, शैक्षिक कुरीति र माफियाका विरुद्ध बुलंद आवाज उठाउँदै जनतालाई सामाजिक न्यायको अनुभूति दिलाउने जिम्मेवारीमा अग्रसर हुनु पर्ने नेबिसङ्घ तर अहिले बाटो बिराएकाे छ ।
नेबिसङ्घ वर्तमान केन्द्रीय समितिका पदाधिकारी, सदस्य र नेतृत्व आफ्नै बिधानकाे पालना गर्न नसकी एक थरी केन्द्रीय समिति भङ्ग गर्न र अर्काथरी समय थप्ने मोहमा मात्र चर्का आवाज उठाउँदै नेताका घर धाउने गतिविधिमै तल्लीन हुनु भनेकाे नेबिसंघकाे गरिमामाथिको कुठाराघात हो ।
इतिहासका हरेक कालखण्डमा नेपाली काँग्रेसका नीति र सिद्धान्तलाई अङ्गीकार गरी प्रजातन्त्र स्थापित गर्नका निम्ति, सामाजिक न्याय र स्वतन्त्रताका निम्ति २०३६,२०४६ र ६२/६३ जनआन्दाेलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी लोकतान्त्रिक गणतन्त्र नेपालको यात्रामा सहयाेगि बनेको नेबिसङ्घले अबका दिनमा समाज र समयको गतिशीलता अनुसार यसको चरित्र र वेग बदल्नु पर्ने आवश्यकता रहेको छ।
आज नेपाल विद्यार्थी सङ्घ शैक्षिक एजेन्डामा मात्र सीमित छैन, पार्टी र गुटको अस्त्र बन्न अभिशप्त छ । सङ्गठनमा व्यक्तिगत लाभ, स्वार्थ र गुटगत स्वार्थ हाबिहुदै गएको छ र नीति, सिद्धान्त, बिचार हराउँदै गएका छन् । आजकाे नेबिसङ्घले विद्यार्थीका मुद्दामा बिचार, विमर्श गर्दैन बरु शैक्षिक संस्थाहरूमा लेनदेनको कारोबारमा अग्रसर देखिन्छ । आज नेबिसङ्घ समग्र शैक्षिक, सामाजिक,वर्गीय आन्दाेलनमा चुकेको आम विद्यार्थीले आभास गरिराखेका छन् ।
स्वबियु चुनाव नजिकिँदै गर्दा प्रजातन्त्र, समाजजबाद, राष्ट्रियता र विद्यार्थी एकता मूल आदर्श बाेकेकाे नेबिसंघलाई प्रत्येक क्याम्पसमा विजय गराउने माहाेल निर्माण गर्दै, कम्युनिस्टहरुकाे अत्याचार र सर्बसत्ताबादविरुद्ध जनतामा सन्देश प्रवाह गर्नुपर्ने जिम्मेवारीमा अग्रसर रहनुपर्ने हुन्छ । तर नेबिसङ्घ चरम गुटबन्दी र स्वार्थमा अलमलिनु भनेकाे आउदाे पुस्ताको सुनाैलाे भबिष्यकाे बाधक बन्न तर्फ उन्मुख हुनु हाे ।
देशमा कम्युनिस्ट सरकारले दुइतिहाईकाे दम्भमा बलात्कार र हत्यारालाई संरक्षण गरिराखेको छ, जताततै भ्रष्टाचार र कुशासन माैलाएकाे छ, कार्यपालिका र न्यायपालिका माथि ठाडो हस्तक्षेप गरिदैछ, प्रेस स्वतन्त्रता र नेपाली जनताको स्वतन्त्रता माथि हनन गरिदैछ, सरकार सामाजिक फासिबाद तर्फ उन्मुख हुँदैछ, शैक्षिक माफियालाई प्रोत्साहन गर्ने ऐन बनाउदैछ, तर अटल इतिहास र अग्रजहरुकाे बिलिदानिबाट स्थापित स्वाभिमानी सङ्गठन नेपाल विद्यार्थी सङ्घ कानमा तेल हालेर बसेको छ । यो भन्दा ठुलो दुर्भाग्य हामी नेबिसङ्घका कर्मठ याेद्धाहरुका लागि केही हुन सक्दैन । आज हरेक विद्यार्थी, हरेक नेपालीले प्रश्न गरिराखेका छन्, के नेबिसङ्घ लङ्गडो भएको हो?
हाम्रा अग्रजहरुकाे त्याग र समर्पणबाट स्थापित नेपाल विद्यार्थीसंघलाई अबका दिनका गतिशील र सशक्त बनाउँदै समयानुकूल शैक्षिक विकासमा केन्द्रित गराउने जिम्मेवारी हाम्रो काँधमा रहेको छ । अबका दिनमा नेबिसङ्घ नितान्त आउदाे पुस्ताका बिधार्थीका समस्या र चुनाैतिलाई सामना गर्दै लोकतन्त्रका आधार स्तम्भ बलियो बनाउन तर्फ केन्द्रित हुनु पर्दछ ।
आज हाम्रा विश्वविद्यालय बेरोजगार जनशक्ति उत्पादन गर्ने फ्याक्ट्रीका रूपमा स्थापित रहेका छन्, यस कारण अबको नेबिसङ्घ नितान्त बि विश्वविद्यालय सुधारमा केन्द्रित हुनुपर्दछ र हाम्रा विश्वविद्यालयबाट निस्केका जनशक्तिहरू बजारमा आफ्ना सीप, क्षमता र दक्षताले आत्मनिर्भरता हुँदै समृद्ब नेपाल निर्माणका निम्ति योगदान गर्न सक्ने खालको वातावरण निर्माण हुनुपर्दछ ।
समृद्ध नेपाल निर्माणका निम्ति समयानुकूल अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप पाठ्यक्रम परिमार्जन गर्दै विज्ञान र प्रविधिलाई जीवनका हरेक क्षेत्रमा पुगाउनका लागि प्रबिधिमैत्रि शिक्षाको विकास नै अबको नेबिसंघकाे मुख्य एजेन्डा हुनुपर्दछ । अबको नेबिसङ्घ सामाजिक अन्यायका विरुद्ध, कम्युनिस्ट सरकारका गलत प्रवृत्ति, सर्बसत्ताबादि चरित्र , जनताको स्वतन्त्रतामाथिको हस्तक्षेप, शैक्षिक कुरीतिका विरुद्धमा आन्दाेलनकाे उद्घाेष गर्दै डटेर सामना गर्न सक्ने हुनुपर्दछ ।
समृद्ध राष्ट्रसँगै बलियो काँग्रेस निर्माणका निम्ति नेबिसंघकाे अबको एजेन्डा कल्याणकारी राज्य स्थापित गर्न तर्फ केन्द्रित हुनुपर्दछ । संविधान निर्माण पश्चात् लोकतन्त्र बलियो बनाउका निम्ति जनतालाई निःशुल्क शिक्षा र स्वास्थ्यकर अवसर राज्यद्वारा प्रदान गरिनु पर्छ र गरिब,निमुखा जनताका छाेराछाेरिकाे समेत इन्जिनियरिङ,मेडिकल लगायत प्राविधिक शिक्षामा सुलभ पहुँच स्थापित गराउन तर्फ अबको नेबिसङ्घका एजेन्डा र कार्यदिशा हुनुपर्दछ । अन्यथा हाम्रा अग्रजका त्याग,तपस्या र बलिदान माथिको उचित सम्मान हुन सक्दैन र समृद्ध नेपाल निर्मणकाे यात्रा गन्तव्यमा पुग्न सक्दैन ।