प्रदेश २ थप्पड प्रकरण : कर्मचारीहरु आन्दोलित

रिपोर्ट नेपाल | 2019 Jan 15 | 05:52 pm 1828

जनकपुर, माघ  १ : प्रदेश नम्बर २ मा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् । आईतबार दिउँसो ३ बजे सचिव झालाई मन्त्री यादवले थप्पड हानेका थिए ।

सो घटनाको विरोध गर्दै कर्मचारीहरुले सोमबारदेखि आन्दोलन थालेका छन् । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेँललाई ज्ञापन पत्र बुझाउदैँ २४ घण्टे अल्टिमेटम समेत दिएको छ ।

बुधबार बैठक बसेर कर्मचारीहरुले क्रमबद्धरुपमा सांकेतिक आन्दोलनको घोषणा गर्ने भएका छन् । थप्पड हानिएका सचिव झालाई उचित स्वास्थ्य उपचार र घटनाको छानविन गर्दै दोषीलाई कारवाही र कर्मचारीलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने माग कर्मचारीहरुको रहेको छ ।

नेपाल निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले आफ्ना माग सम्बोधन नगरे प्रदेश सरकारविरुद्ध सुरुमा विरोधस्वरुप एकघण्टा कालोपट्टी बाँधेर कार्यालयमा कामकाज गर्ने बताए ।

उनले बुधबार सबै कर्मचारी संगठनहरुसँग छलफल गरी अगाडी बढ्ने समेत स्पष्ट पारे । त्यस्तै नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन प्रदेश नम्बर २ का सचिवालय सदस्य मुनेश्वर यादवले पनि सचिव झाले न्याय नपाएसम्म आन्दोलनलाई सशक्त पार्दै सरकारविरुद्ध कडा आन्दोलन गर्ने दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.