काठमाडाैँ, पुस २३ : नेपाल वायुसेवा निगमका वाइडबडी विमान खरिद प्रकरणमा संसदकाे सार्वजनिक लेखा समितिले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी हदैसम्मकाे कारबाही गर्न सिफारिस गरेकाे छ ।
आज साेही समिति अन्तरगतकाे उपसमितिले पेश गरेकाे प्रतिवेदनमाथि छलफलपश्चात साे विमान खरिदमा भ्रष्टाचार भएकाे ठहर गर्दै कारबाहीका लागि अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगलाइ निर्देशन दिन सिफारिस गरिएकाे हाे ।
निगमको विनियमावलीको दफा २३६ (२) अनुसार बद्नियतपूर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अघि बढाई अख्तियारकाे दुरुपयाेग गरेकाे भन्दै कंसाकारलाइ साे कारबाही सिफारिस गरिएकाे हाे ।

वाइडबडी विमान भ्रष्टाचार प्रकरणमा मुख्य भूमिका खेलेकाे अाराेप पनि उनीमाथि लगाइएकाे छ । ‘निगमका महाप्रबन्धक कंसाकारले बद्नियत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकाले निजलाई कानुन बमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्ड सजाय गर्न कानुनी कारबाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने ।’ समितिले भनेकाे छ ।
समितिको आज बसेको बैठकमा उपससमितिको संशोधित प्रतिवेदनको छलफलपछि समितिले सचिव, मन्त्री र पूर्व पर्यटनमन्त्रीद्वयलाई कारवाहीका लागि सिफारिस गरेको हो । तर उनीहरुकाे ठूलाे दाेषा नदेखिए पनि भन्दै समितिले पूर्व र बहालवाला मन्त्रीहरुलाई नैतिक जिम्मेवारी लिएर पन्छिने बाटो खुलाएको छ ।
यस्तै, समितिले प्रकरणमा बहालवाला पर्यटन सचिव कृष्णप्रसाद देवकोटालाई पनि निलम्बलन गर्न लेखा समितिले री हदैसम्मको दण्ड सजाय गर्न निर्देशन दिएकाे छ । तत्कालीन निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका कृष्णप्रसाद देवकोटाले महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदन २०७४ ले विमान खरिद नियम संगत नभएको भनी जनाएको अवस्थामा पनि छानबिन नगरी खरिद प्रक्रियालाई निरन्तरता दिएको आरोप लगाइएको छ ।
तर यसअघि उपसमितिले कारबाही सिफारिस गरेकाे हालका गृह-सचिव प्रेमकुमार राइकाे नाम भने साे सूचीबाट हटाएकाे छ । समितिले तत्कालीन पर्यटन सचिव रहेका राईलाई ‘क्लिन चिट’ दिएको हाे । उपसमितिले राईलाई कारबाही सिफारिस गरेपनि दोषी मान्ने आधार नदेखिएको समितिले ठहर गरेको छ ।
कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले वाइड बडी विमान खरिदमा ४ अर्ब ३५ करोड भन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।

