काठमाडौं, पुस २२ : नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो।
सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
अधिकारी नेपाल टेलिकमकै दशौं तहका कर्मचारी हुन् । उनी टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार पनि हुन् ।