‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, काउन्टर पनि खुल्छ” : प्रधानमन्त्री ओली

| 2019 Jan 06 | 03:02 pm 1837

काठमाडौं, पुस २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाजको काउन्टर खुल्ने र टिकट पनि काटिने भन्दै आफ्नो योजनाको खिसिट्युरी नगर्न अनुरोध गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा रेल र पानी जाहज संचालनका विषयलाई लिएर आफूलाई धेरैले सामाजिक सञ्जालमा प्रश्न गरे ।

“मैले स्मरण गरिरहेको छु– पानीजहाजको कुरा गर्दा कागजको डुंगा फ्याँकियो, रेलका कुरा गर्दा रित्ता बाल्टिन लाइनमा राखियो । कहिले गुडिया रेल राखियो । अहिले पनि कुरा काटेको सुनेको छु– रेलको टिकट काटौँ भनेको काउन्टर खै ? हिजो नपत्याउनेहरूले आज हुन्छ भन्ने ठान्नुभएछ र कमसेकम काउन्टर खोज्न थाल्नुभएछ । ‘रेल नि आउँछ पानी जहाज नि आउँछ । धैर्य गरौँ, मेरो सुझाव छ । टिकट काट्न पाइन्छ । काउन्टर पनि खुल्छ ।”

कुर्था–जयनर रेलका लागि दुईवटा रेल खरिद कार्य अघि बढेको, केरुङ–काठमाडौँको पूर्व सम्भाव्यता अध्ययन समाप्त भएको र चिनियाँ सरकारको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन निर्माण कार्य अघि बढेको उनको भनाइ थियो ।

काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग पनि पूर्वसम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको, रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको समझदारी पत्रमा हस्ताक्षर भइसकेकाले रेल टाढाको कुरा नभएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सेवा सुविधाबारे दरिद्रता प्रदर्शन नगर्न आग्रह पनि गरे । प्रधानमन्त्रीले भने, ‘राष्ट्रपतिबारे अनावाश्यक दरिद्रता प्रदर्शन गरिरहनु पर्दैन । प्रहरी तालिम केन्द्र अहिले सारेको होइन, पहिले नै सार्ने निर्णय भैसकेको थियो ।’

उनले प्रतिपक्षलाई सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न आव्हान गर्दै त्यसका लागि वातावरण बनाउन तयार रहेको बताए । ‘म प्रतिपक्षलाई आव्हान गर्न चहान्छु सम्बृद्धिका लागि सँगै मिलेर जान तयार छु । त्यसका लागि के गर्नुपर्छ गर्छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.