प्रदेशसभा सदस्य पहारीको तलबभत्ता सङ्घसंस्थालाई

रिपोर्ट नेपाल | 2019 Jan 06 | 10:23 am 2490

कास्की, पुस २२ : गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको तलबभत्ता सामाजिक कार्यमा सहयोग गरेका छन्।

प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखि मङ्सिर मसान्तसम्मको तलबभत्तावापतको रु चार लाख ५० हजार विभिन्न सङ्घसंस्था, विद्यालय, क्लब तथा आमा समूहलाई प्रदान गरेको सांसद पहारीले बताए।

उनले कास्कीकोट थुन्सेडाँडामा खानेपानी पाइपका लागि रु ६० हजार, फेवाताल संरक्षणका लागि वडा विकास समिति–६ लाई रु ८० हजार, बलात्कारपछि हत्या गरिएकी बालिका श्रीया सुनारको परिवारलाई रु १० हजार, विभिन्न आमा समूहलाई रु ४० हजार र कास्की खेलाडी सङ्घलाई रु २३ हजार बराबरको युरोगार्ड सहयोग गरेको जानकारी दिए।

पहारीले आफ्नो निर्वाचन क्षेत्रका सिद्ध आधारभूत विद्यालय लुम्ले, ज्ञानोदय आधारभूत विद्यालय अन्नपूर्ण–६, जनसिद्ध आधारभूत हर्पन, सिद्धबराह मावि ठूलाखेत, हिमालय मावि तोल्का, धर्मस्थली आधारभूत विद्यालय पोखरा–५, सिर्जना सामुदायिक विद्यालय अन्नपूर्ण–१, धारापानी विद्यालय पाउँदुर र प्रगतिशील मावि सल्यानलाई पिउने पानीका लागि एक-एक थान युरोगार्ड प्रदान गरेका छन्।

आगामी दिनमा पनि तलबभत्ता सामाजिक कार्यमै खर्चिने पहारीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.