काठमाडौं, पुस २० : ‘तपस्वी’ रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीले शुक्रवार छापा मारेको छ । जिल्ला अदालतबाट अनुमति पाएपछि जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बम्जनको बाडेगाउँस्थित जंगलको आश्रममा छापा मारेको हो ।
आफूलाई ‘लिटिल बुद्ध’ दावी गर्दै आएका बमजनमाथि आनीहरुलाई वेपत्ता बनाएको, बलात्कारका काण्ड मच्चाएको आरोप लगाउँदै प्रहरीमा उजुरी नै परेपछि सिआइबीको टोली बमजनको सिन्धुपाल्चोकस्थित आश्रममै पुगेर अनुसन्धान थालेको हो ।
सिआइबीका डिआइजी निरज शाहीले सिआइबीको टोली सिन्धुपाल्चोक गइसकेको र अहिलेसम्म त्योभन्दा बढी जानकारी आइनसकेको बताएका छन् । उनले भने, ‘हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौं ।’
तपश्वी बमजनविरुद्ध पछिल्लो समय तीन आनीलाई आश्रमबाटै वेपत्ता बनाएको भन्दै बारा र मकवानपुरमा उजुरी परेको छ । बमजनमाथि लागेका आरोप सार्वजनिक भएसँगै सम्बन्धित प्रहरी कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।
बमजन अहिले सिन्धुलीको आश्रममा रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले चौबीसै घण्टामा निगरानीमा राखेको जनाइएको छ ।