आईजीपी खनाललाई गुल्मेलीको सम्मान

रिपोर्ट नेपाल | 2018 Jun 09 | 12:57 pm 2591

काठमाण्डौं, जेठ २६: शसस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई शनिबार गुल्मी बनस्थली सम्पर्क समाजले मानार्थ आजिवन सदस्यता सहित सम्मान गरेको छ ।

गुल्मी जिल्ला स्थायी घर भई उपत्यकामा विभिन्‍न पेशामा आबद्ध वनस्थलीमा बसोबास गर्ने गुल्मेलीहरुको संस्था सम्पर्क समाजले महानिरीक्षक खनालका साथै हालै नेपाल प्रहरीबाट बढुवा भएका प्रहरी नायब उपरीक्षक किरण कुँवरलाई समेत सम्मान गरीएको हो ।

सम्मान कार्यक्रममा आफ्नो धारणा राख्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफूले जिल्लाको शिर निहुरीन नदिने भन्दै ऋष्यश्रृंग्य ऋषीले तपस्या गरेको रेसुङ्गा सिद्धवावा र रुरुमा रहेको ऋषीकेसको आशिर्वादले राष्ट्रको शिर उचो पार्ने प्रतिबद्धता जनाएको हुन् ।

महानिरीक्षक खनालले आफूले जन्मस्थान गुल्मीको विकासका लागि सक्दो योगदान गर्ने कुरा समेत बताए। पूर्णबहादुर थापाको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा सिद्धार्थ वनस्थली स्कुलका संस्थापक प्रिन्सिपल चुरामणी मरासिनीले आफूले कक्षा ६ देखि १० सम्म पढाएको विद्यार्थी देशको आइजीपी भएको देख्‍न पाएकोमा हर्षित भएको बताए ।

समाजका आजिवन सदस्य समेत रहेका मरासिनीले आफूले पढाउदाको अनुशासन आज सम्म कायम राख्न सफल भएकाले शैलेन्द्र खनाल आज मुलुकको आइजीपी भएको उल्लेख गर्दै खनाललाई आफूले ठूलो मान्छे भन्दा असल मान्छेका रुपमा पाएको बताए ।

गुल्मी वनस्थली समाजले हरेक महिनाको अन्तिम शनिबार आफ्ना सदस्यको घरमा गर्ने गरेको चियापान आज चुरामणी मरासिनीको घरमा गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.