उद्यमशीलताका लागि महिलाहरुलाई सिलाई मेसिन प्रदान

रिपोर्ट नेपाल | 2019 Jan 01 | 06:24 pm 3815

दाङ, पुस १७ : तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ ले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउनका लागि सिलाई मेसिन वितरण गरेको छ । महिलाहरुलाई स्वरोजगार वनाउनका लागि मेसिन प्रदान गरिएको वडाध्यक्ष वीरबहादुर बिकले बताए ।

उनले महिला लक्षित कार्यक्रम अन्तर्गत सिलाई मेसिन प्रदान गरिएको पनि जानकारी दिए । महिलाहरुलाई सीप सिकाएर उनीहरुलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो अध्यक्ष बिकले वताए । मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै महिलाहरुले मेसिनका माध्यमबाट आयआर्जनको पाटोलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले वडाले गरेको सहयोग प्रति आभार समेत व्यक्त गरेका थिए।

कार्यक्रममा महिलाहरुलाई मेसिन हस्तान्तरण गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक विकासका लागि महिलाहरु पनि अग्रसर हुनुपर्ने बताए ।

उनले महिलाहरु पनि आर्थिक विकासका लागि अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै आयआर्जनको बाटोमा लगाउनका लागि जुनसुकै काम गर्न पनि उपमहानगरपालिका तयार रहेको बताए । ‘तपाईहरुले काम गर्ने जाँगर बनाउनुहोस् हामी सहयोग गर्न तयार छौ’ नगर प्रमुख पाण्डेले बताए । उनले साधन स्रोत भएर मात्रै विकास नहुने बताउँदै त्यसको उचित प्रयोगमा सबैले ध्यान दिनुपर्ने बताए ।

वडाभित्रका ३ महिला समु्हलाई मेसिन प्रदान गरिएको छ । सो अवसरमा सृजनशिल कृषि महिला समुह गहतेलाई ३ वटा, सृजनशिल महिला समुह भट्टेलाई ५ वटाका साथै प्रगतिशिल महिला समुह प्रतापकोट नाउलालाई ३ वटा मेसिन प्रदान गरिएको छ ।

महिलाहरुले मेसिनबाट सिलाई कटाई सिक्नुका साथै व्यवसाय पनि सञ्चालन गर्न सक्ने महिला सदस्य छवि खरालले बताईन् । उनले महिला लक्षित कार्यक्रम अन्तर्गत वडाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि जानकारी दिइन् । कार्यक्रममा सहयोगी आमा समुहकी अध्यक्ष शोभा पुन र पूर्व वडाध्यक्ष लिलाधर खरेल लगायतले मन्तव्य राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.